चियाखेती गर्दै तनहुँकाे ऋषिङ गाउँपालिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    चियाखेती गर्दै तनहुँकाे ऋषिङ गाउँपालिका

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०८१, बिहीबार

    दमाैली । तनहुँकाे ऋषिङ गाउँपालिकाले चियाखेती सुरु गरेकाे छ । जीविकोपार्जनसँग पर्यटनलाई जोड्ने उद्धेश्यसहित चियाखेती सुरु गरिएको बताइएको छ ।

    ऋषिङ गाउँपालिकाले वडा नम्बर ३ स्थित दुवुङकोटमा बिहीबार एक हजार पाँच सय चियाको बिरुवा रोपेको छ । यो वर्ष परीक्षणका रुपमा रोपिएको चियाको उत्पादन राम्रो भए आगामी दिनमा थप जग्गामा चियाखेती विस्तार गरिने गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए।

    उनले भने, “दुवुङकोटमा एक सय रोपनी जग्गा छ, सबै जग्गामा लगाउँदा संरक्षण गर्न सकिदैन की भनेर १२ रोपनीमा मात्रै बिरुवा रोपिएको छ । परीक्षण भएकाले पछि राम्रो भएको खण्डमा सबै जग्गामा चियाखेती गर्छौ ।”

    स्थानीयवासीलाई रोजगारीसँग जोड्दै पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यसहित चियाखेतीको अवधारणा ल्याइएको श्रेष्ठको भनाइ छ । उनले भने, “यस ठाउँलाई चिया बगान बनाउन सकिए स्थानीयवासीलाई रोजगारी पनि हुन्छ । गाउँमै बसौं बसौं भन्ने उद्धेश्यसहित चियाखेती गरेका छौ । गाउँबाट बजार झरेकाहरुलाई पनि गाउँमै बोलाएर यसतर्फ जोड्ने लक्ष्य हो ।”

    दुवुङकोटलाई पर्यटकीय स्थल बनाउने भनेर गाउँसभाबाट निर्णय गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । उनले भने, “यस ठाउँलाई इलामजस्तै बनाउने सपना हो । त्यसको थालनी गरेका छौ । चियाखेतीका लागि बेर्ना ढुवानी, खाल्डो खन्ने, मल व्यवस्थापनका लागि स्थानीयवासीको सहयोग प्राप्त भएको छ ।”

    ऋषिङ गाउँपालिका–३ का वडाध्यक्ष भीमबहादुर थापाले दुवुङकोटमा भ्युटावर समेत रहेकाले यो ठाउँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन सक्ने बताए। उनका अनुसार चियाको बिरुवा इलामबाट मगाइएको हो ।