दमौली । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिका लागि फेरि गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । पटक-पटक सरकारको ध्यानाकर्षण गराइसकिएको अस्पतालको स्तरोन्नतिका लागि बिहीबार पुन: मुख्यमन्त्रीलाई भेटेर व्यवस्थापन समितिले यो विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा पुगेको टोलीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास मन्त्री विन्दुकुमार थापालाई भेटेर अस्पताल स्तरोन्नतिका लागि सहयोग गर्न आग्रह गरेको छ ।
विगतमा पनि पटक-पटक यो विषय उठान हुँदै आएकाले अब अस्पतालको स्तरोन्नतिका लागि निर्णय गर्न वाग्लेले मुख्यमन्त्रीलाई अनुरोध गरेका छन् । धेरै सेवाग्राहीलाई सेवा दिने अस्पतालमध्ये दमौली अस्पताल गण्डकी प्रदेशमै दोस्रो रहेकाले यसको स्तरोन्नति गर्न आवश्यक रहेको उनले बताए ।
सो क्रममा मुख्यमन्त्री पाण्डेले आगामी मन्त्रिपरिषद् बैठकबाट यसबारेमा निर्णय लिइने बताएका छन् ।
यसअगाडी मुख्यमन्त्री पाण्डे, सामाजिक विकास मन्त्री लगायतले पटक-पटक दमौली आएर अस्पताल स्तरोन्नति गर्ने सार्वजनिक कार्यक्रममै घोषणा गरेका थिए ।