स्वास्थ्य मन्त्रालयद्वारा दमौली अस्पताललाई उपकरण सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्वास्थ्य मन्त्रालयद्वारा दमौली अस्पताललाई उपकरण सहयोग

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०८१, बिहीबार

    दमौली । तनहुँको दमौली अस्पतालमा पहिलो पटक बेहोस बनाएर शल्यक्रिया गर्ने सुविधा थपिएको छ । हालसम्म बेहोस बनाइने उपकरण र प्रविधि अभावमा सामान्य शल्यक्रिया हुन नसकेकामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक उपकरण सहयोग गरेपछि अब त्यसखालका शल्यक्रिया गर्ने बाटो खुलेको हो ।

    मन्त्रालयले अस्पताललाई बेहोस पार्ने उपकरण र प्रविधि सहयोग गरेको छ । हाल मध्यमखालका शल्यक्रिया समेत हुन नसकेकामा एनेस्थेसिया वर्किङ स्टेशन आवश्यक रहेको अस्पतालले बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पताललाई उपकरण पठाउने व्यवस्था मिलाएका हुन्।

    मन्त्री भएलगत्तै अस्पताल भ्रमणमा पुगेका बेला पौडेललाई जिल्ला समन्व्य समितिका प्रमुख समेत रहेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष शान्तिरमण वाग्ले र अस्पताल प्रमुख डा. परिवर्तन बरालले उपकरण सहयोगका लागि आग्रह गरेका थिए ।

    अस्पताल प्रमुख बरालले एनेस्थेसिया वर्किङ स्टेशन निर्माणका लागि चाहिने उपकरण, बेहोस बनाउने उपकरण एक थान र मोनिटर एक थान मन्त्रालयबाट प्राप्त भएको जानकारी दिए । हाल दुई चिकित्सकसमेत व्यवस्था गरेको अस्पतालले अब मध्यमखालका शल्यक्रिया गर्न सक्ने प्रमुख बरालले जानकारी दिए । अस्पतालले पित्तथैली तथा स्त्रीसम्बन्धी रोग र हड्ीको शल्यक्रिया सुरु गर्ने तयारी गरेको छ ।