लोकतन्त्रप्रति जनताको भरोसा जगाउन भूमिका खेल्नुहोस् : राष्ट्रपति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लोकतन्त्रप्रति जनताको भरोसा जगाउन भूमिका खेल्नुहोस् : राष्ट्रपति

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०८१, मंगलवार

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

    सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपालका नवनिर्वाचित पदाधिकारीहरूलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा शुभकामना दिँदै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

    “त्यतिमात्र होइन भुकम्प, कोरोनाजस्ता विपद्का बेला यी रेडियोहरूको भूमिका विपद्का साथीका रूपमा रहेको थियो, यसका लागि म तपाईंहरूलाई ह्रृदयदेखि धन्यवाद दिन चाहन्छु”, उनले भने । नागरिकलाई सुसूचित गर्न तथा जनताको अभिव्यक्ति स्वतन्त्रताको जगेर्ना गर्न सामुदायिक रेडियोको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको उनकाे भनाइ थियो ।

    राष्ट्रपति पौडेलले सामाजिक सञ्जालको प्रयोगको तिब्र होडबाजीले तथ्यहिन र भ्रामक सूचना संप्रेषण हुनसक्ने अहिलेको चुनौतिको सामना गर्दै जनतालाई सत्य, तथ्य सूचना संप्रेषण गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई निर्वाध उपयोगको वातावरण बनाउन र प्राप्त लोकतन्त्रप्रति जनताको भरोसा जगाउन आगामी दिनमा अझै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

    उनले साक्षर मात्र होइन सञ्चारका अरु साधनको पहुँच नभएका निरक्षर जनताका लागि पनि रेडियो सुसूचित हुने सबैभन्दा सरल, सहज र विश्वसनीय सञ्चार माध्यम हो भने । सामुदायिक रेडियो अभियानले विभिन्न भाषामा कार्यक्रम तथा समाचार प्रसारण गरिरहेकोमा उनले खुसी व्यक्त गरे ।