काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि ५६ जिल्लामा चार दिनसम्म वर्षा हुने अनुमान गरेको छ।
देशभर मनसुनी वायुको प्रभाव रहेको र बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभाव कारण मेघगर्जन/चट्याङसहितको वर्षा हुने अनुमान महाशाखाले गरेको हो। तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावनासमेत रहेको महाशाखाको आकलन छ।
वर्षाको कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको भन्दै सचेतना अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। महाशाखाले सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने अनुमान पनि गरेको छ।