दमौली । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले पृथ्वीराजमार्गस्थित नयॉ पोलमा लाइन विस्तारका लागि विद्युत कटौती गरेको छ ।
दमौली बजारमा सडक किनारमा पोल गाड्ने काम भइरहेको र उक्त पोलमा नयॉ लाइन विस्तार गरी पुरानै संरचना हटाउनका लागि बिहीबार बिहान १० बजेदेखि विद्युत कटौती गरिएको हो ।
व्यास-१,२,३,४ र ५ को चापाघाट, मानुङ र पाटनमा आवश्यकता अनुसार विद्युत कटौती हुने जनाइएको छ ।
विद्युत कार्यालयले असोज ५ देखि ११ सम्म दमौली फिडरबाट आपूर्ति हुने ठाउँमा विद्युत अवरुद्ध हुन सक्ने सूचना निकालेको थियो । दमौलीको एक एफएममा उक्त सूचना प्रसारण भएपनि सर्वसाधारणको सहज पहुँच भएको फेसबुकमा उक्त सूचना बिहीबार दिउँसो १२ बजे मात्र हालिएको छ । विजुली अफिस नामक फेसबुक पेजमा सूचना प्रवाह गर्दा सर्वसाधारणले सहज रुपमा जानकारी पाउन सक्ने भएपनि कार्यालयले त्यसमा ध्यान नदिएको नगरवासीको गुनासो छ ।