नेपाल आर्ट भिलेजसँग सहकार्य गरेर अगाडि बढ्नेछौं: मुख्यमन्त्री लामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपाल आर्ट भिलेजसँग सहकार्य गरेर अगाडि बढ्नेछौं: मुख्यमन्त्री लामा

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८१, शनिबार

    काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले  ललितपुरको छम्पीमा भैरवको विश्वकै ठूलो मुखाकृतीसहितको निर्माणाधिन नेपाल आर्ट भिलेजसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    उनले कला र संस्कृतिलाई जगेर्ना गर्ने काम नेपाल आर्ट भिलेजले गरेको सुन्दा खुशी लागेको उनले बताए । उनले प्रविधिलाई समेत प्रयोग गरेर कला क्षेत्रलाई बिक्री गर्न सक्नुपर्ने र विदेशबाट डलर आम्दानी गर्नुपर्ने उनले बताए ।

    मुख्यमन्त्री लामाले यस परियोजनामा बागमती प्रदेशले केकस्तो सहयोग गर्न सकिन्छ, छलफल गरेर सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

    ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यो परियोजना नेपाल आर्ट भिलेजको मात्रै नभएर अब बागमती प्रदेशकै ‘ड्रिम प्रोजेक्ट’ हुनुपर्ने बताइन् । उनले आर्ट भिलेजलाई नमूना परियोजनाका रूपमा अगाडि बढाउन सकिएमा नयाँ पुस्तालाई आकर्षित गर्न सकिने उनले बताइन् । सबै तह मिलेर यस परियोजनालाई सफल बनाउनुपर्ने उनले बताइन् । यस परियोजनालाई सहयोग गर्न ललितपुर महानगरपालिका तयार रहेको उनले बताइन् ।

    नेपाल आर्ट भिलेजका अध्यक्ष राजेन्द्र शाक्यले नयाँ पुस्तालाई परम्परागत कला, हस्तकला लगायतको जगेर्ना र चिनाउने तथा नेपाली युवालाई कला संस्कृतिलाई जोगाइराख्नका लागि यो परियोजनाले विशेष भूमिका खेल्ने बताए ।  सत्यमोहन जोशी स्मृति पार्कमा समेत आर्ट भिलेजको सहयोग रहने उनले बताए ।

    २०८१/८२ सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ भैरवको मूर्ति निर्माण कार्य भइरहेको नेपाल आर्ट भिलेजका संस्थापक एबम प्रबक्ता रुपक मान महर्जनले बताए । यो मुर्ती विश्वकै अग्लो भैरवको मूर्ति हुने र यसले बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत भूमिका खेल्ने महर्जनले बताए । एक दिनमा १ हजार २ सयभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य रहेको उनको भनाइ छ ।

    म्युजियम, साहसिक खेल, भोजनालय, वनस्पति उद्यान लगायत समेत सो परियोजनामा निर्माण हुने उनले बताए । यस सम्पदा ग्राम क्षेत्रले नेपालको मौलिक कला र संस्कृतिलाई अन्तराष्ट्रिय रुपमा विस्तार समेत गर्ने उनको विश्वास छ ।

    आर्ट भिलेजको यस अभियानमा स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगको अपेक्षा राखिएको उनले बताए । उनले सहुिलयतपूर्ण ऋण, सडकमार्ग तथा पानीको पहुँचका लागि सरकारले साथ दिनुपर्नेमा उनले जोड दिए ।

    ललितपुर गोदावरीको छम्पीमा भैरवको विश्वकै ठूलो मुखाकृतीसहितको नेपाल आर्ट भिलेज निर्माण हुँदैछ । प्रसिद्ध मूर्तिकार राजेश अवालेको परिकल्पनामा सन् २०१७ मा जग्गा एकीकरण गरी सुरु भएको यस परियोजनाको सन् २०२० मा शिलान्यास गरिएको थियो । तर कोरोना  महामारीको समस्याका कारण केही समय सुस्ताएको परियोजनाअन्तर्गतको भैरवको मुखाकृती निर्माण अहिले तीव्र गतिमा अगाडि बढाइएको कम्पनीले जनाएको छ ।

    विभिन्न क्षेत्रका ऊर्जावान कलाप्रेमी व्यक्तिहरु, कलाकार, व्यापारी, सामाजिक उद्यमी एवम् समाजका अग्रज एवम् प्रबुद्ध व्यक्तित्वहरुको समेत संलग्नतामा स्थापना भएको एवम् नेपाली मौलिक कलासंस्कृतिकको जगेर्ना गर्ने, परम्परागत सीप र कौशलको उजागर र प्रचारप्रसार गर्ने तथा पर्यटन क्षेत्रको प्रबद्र्धनका लागि आवश्यक योजना तथा कार्यक्रम तय गरी अनुसन्धान र विकास गर्ने उद्देश्यले परियोजना सुरु भएको हो ।