दमाैली । प्रहरी बिनाको समाज परिकल्पना गर्न नसकिने तनहुँको दमौलीमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । ६९ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँले आज आयोजना गरेको कार्यक्रमका वक्ताहरुले समाजमा शान्तिसुरक्षा कायम गर्न प्रहरीको महत्वपूर्ण भूमिका रहने चर्चा गरे ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले समाजका हरेक क्रियाकलापमा प्रहरी जोडिने भएकाले प्रहरी बिनाको समाज कल्पना गर्न नसकिने बताए । उनले भने, “समाजमा शान्ति कायम गर्न प्रहरीको अहमं भूमिका छ, प्रहरी सधै अग्रणी स्थानमा रहने गर्दछ ।”
प्रहरीको ठूलो संरचना भएपनि आधुनिक रुपमा अझै प्रहरीलाई विकास गर्न नसकिएको उनकाे भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष डिपी अधिकारीले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सञ्चारमाध्यमको तर्फबाट सहयोग रहँदै आएको बताए। विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणमा प्रहरीको भूमिका सधंै उच्च रहँदै आएको उनकाे भनाइ थियो ।
प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीले जनताको जिउधनको रक्षाका लागि नेपाल प्रहरी चौबिसै घण्टा खटिदै आएको बताए। प्रहरी र नागरिकको सम्बन्ध नङ र मासुको रहेको बताउँदै शान्ति सुरक्षा कायम गर्न नागरिकको सहयोग महत्वपूर्ण हुने बताए।
सो कार्यक्रममा सहिद प्रहरीका परिवार, उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी, विभिन्न खेलकुद कार्यक्रमका विजेता प्रहरीलाई प्रमुख जिल्ला अधिकारी गौतमले सम्मान एवं पुरस्कृत गरेका थिए ।