जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा उभिएर भन्न चाहन्छु – जनताको सुख, शान्ति र मुलुकको समृद्धि होस : राष्ट्रपति पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा उभिएर भन्न चाहन्छु – जनताको सुख, शान्ति र मुलुकको समृद्धि होस : राष्ट्रपति पौडेल

    खबरपुञ्ज संवाददाता

    ३० आश्विन २०८१, बिहीबार

    बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित् नाटयश्वरी मन्दिरको नवनिर्मित भवनको विहिबार उदघाटन गरेका छन् ।

    उद्घाटन समारोहमा उनले भने, ‘परापूर्वकालदेखि यी स्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको हामीले सुन्दै आएका बताउँदै आज मैले यस पूण्य भूमिमा उभिएर प्रार्थना गर्दछु – सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र मुलुकको समृद्धिका लागि ।’

    राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महशुस भएको बताए ।

    “जब मैले बडीमालिका उभिएर चारैतिर प्रकृतिको अनुपम र मनोरम जुन छटा देखे मलाई म स्वर्गमा आएको महशुस भएको छ, मैले जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महशुस गरेको छु”, राष्ट्रपति पौडेलले भने, “ नाट्यश्वरी देवीको मन्दिर प्राङगणमा उभिएर देवीलाई सम्झेर म भन्न चाहन्छु, यहाँ रहेको प्रकृतिको छटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको छु,” उनले भने, “मलाई बाजुरावासी स्वर्गका वासिन्दा जस्तो लागेको छ, विपन्नतामा छौ भन्ने तपाईहरुलाई लाग्ला, अब तपाईहरुले त्यो भावना मनमा नराख्नुहोला, यो ठाउँको कृषि, पर्यटनको विकास हुन्छ, स्तरीय बाटो खुल्छ र यो भूमि सुन्दरता र वैभवताले भरिपूर्ण हुनेछ । ”

    राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांँस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई प्रसिद्ध धार्मिकस्थल एवम् दिव्यधामहरूले एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताए ।

    “बाजुरामा ऐतिहासिक, धार्मिक, साँंस्कृतिक तथा प्राकृतिक धरोहरहरू हुँदाहुँदै पनि विकास र समृद्धिमा पछाडि परेको छ, स्रोत र साधनका लागि अथाह सम्भावना बोकेको यो भूमिको विकासका लागि राज्यको उचित ध्यान जाने विश्वास व्यक्त गर्दछु”, राष्ट्रपति पौडेलले भने ।
    त्रिवेणीमा अवस्थित् बडीमालिका दिव्यधामलाई नेपालकै एक अलौकिक धरोहरका रूपमा लिइने र यस्तो दिव्यधाममा आएर बडीमालिकाको दर्शन र नाटेश्वरी देवीको दर्शन गर्न पाएकोमा उनले खुशी प्रकट गरे ।

    राष्ट्रपति पौडेलले यो धार्मिक स्थल पर्यटकीय, पुरातात्विक, सांस्कृतिक एवम् प्राकृतिक सुरम्य स्थलका रूपमा रहेको र यो स्थल साँंच्चिकै स्वर्ग हो भन्ने अनुभूत गरेंको बताए ।

    “यहाँका अलौकिक, प्राकृतिक सम्पदा जस्तैः कस्तुरी, मृग, झारल, घोरल, बाघ, भालु, विभिन्न चराचुरूङ्गी, डाँफे, मुनाल साथै अमूल्य जडीबुटीहरूले सु–शोभित पुण्यभूमिको आरक्षण र यस क्षेत्रको विकास जरुरी छ भन्ने मलाई लागेको छ, यसका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु”, उनले भने । यस दिव्यधामको सानिध्यमा रहेका त्रिवेणी, मौर्या क्षेत्र र नाटेश्वरी देवीको मन्दिर नेपालको अति प्रसिद्ध धार्मिक स्थल हो । बडीमालिका दर्शनपछि नाटेश्वरी मन्दिरमा आएर दर्शन गर्ने मान्यतासमेत रहेको छ । यस स्थलको स्कन्धपुराणको मानस खण्डमा पूर्ण रूपमा वर्णन गरेको पाइन्छ ।