दमाैली । तनहुँ जिल्लामा डेङ्गु सङ्क्रमित तीन हजार आठ सय २३ जना पुगेका छन् । स्वास्थ्य कार्यालय तनहुँका अनुसार असार १ देखि आजसम्म जिल्लाका दश वटै स्थानीय तहमा डेङ्गु सङ्क्रमित तीन हजार आठ सय २३ जना पुगेका हुन् ।
स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले दैनिकजसो सङ्क्रमित थपिने क्रम बढ्दो अवस्थामा रहेको जानकारी दिए। अधिकारीले शहरी क्षेत्रमा बढी सङ्क्रमित भेटिएको उल्लेख गरे ।
जिल्लाका दशवटै स्थानीय तहमा डेङ्गुका सङ्क्रमित छन् । सदरमुकामस्थित व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकामा बढी सङ्क्रमित छन् ।
अधिकारीका अनुसार व्यास नगरपालिकामा एक हजार चार सय ७१, शुक्लागण्डकी नगरपालिकामा चार सय ४०, भिमाद नगरपालिकामा ३७, भानु नगरपालिकामा ४४, म्याग्दे गाउँपालिकामा ४२, बन्दीपुर गाउँपालिकामा एक सय ३९, आँबुखैरेनी गाउँपालिकामा एक हजार पाँच सय ६१, घिरिङ गाउँपालिकामा चार, ऋषिङ गाउँपालिकामा चार, देवघाट गाउँपाालिकामा ५३ र अन्य जिल्लाका २८ सङ्क्रमित छन् ।
सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा दैनिक चार सय बिरामी आउने गरेकामा डेङ्गुका सङ्क्रमित पनि भेटिने गरी अस्पताल प्रमुख डा. परिवर्तन बरालले जानकारी दिए।
एक्कासी ३ देखि ५ दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशीहरु बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण भएको डा. बरालको भनाइ छ ।
डा. बरालका अनुसार पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाईबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नु, सँधै राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाईबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।