बीस दिनदेखि अवरुद्ध बुद्धसिंह मार्ग नखुल्दा सास्ती, सर्वसाधारण आक्रोशित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बीस दिनदेखि अवरुद्ध बुद्धसिंह मार्ग नखुल्दा सास्ती, सर्वसाधारण आक्रोशित

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०८१, शुक्रबार

    दमौली । तनहुँको बुद्धसिंह मार्ग अन्तर्गत नाल्दीघाट खण्ड बीस दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । गत असोज ११ र १२ गतेको वर्षापछि आएको पहिराले बुद्धसिंह मार्गको बन्दीपुर गाउँपालिकास्थित नाल्दीघाटमा बाटो अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको हो ।

    यत्तिका दिनसम्म पनि सम्बन्धित निकायले बाटो खुलाउनेतर्फ तदारुकता नदेखाएको बुद्धसिंह मार्ग सरोकार समितिका संयोजक सिद्धान्त थापा मगरले बताए । दसैंका बेला पनि बाटो नखुल्दा सर्वसाधारणले सास्ती खेप्दै यात्रा गर्नुपरेको उनले गुनासो गरे ।

    बुद्धसिंह मार्गका दजैनौ ठाउँमा पहिरा गएपनि अधिकांश ठाउँका पहिरा पन्छाइएको थियो । तर नाल्दीघाटको पहिरा अझैसम्म हटाइएको छैन । पहिरोका कारण उक्त सडकको व्यास नगरपालिकास्थित बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्यूघर लगायतका स्थानमा सडक अवरोध भएको थियो ।

    नाल्दीको पहिरा हटाउन पटक–पटक माग गरेपनि सुनुवाई नभएको उनको गुनासो छ । पूर्वाधार विकास कार्यालयले चेन डोजर नभएको हुँदा पहिरा हटाउन नसकिएको जवाफ दिएको उनले उल्लेख गरे । उनले भने, “यत्ति लामो समयसम्म बाटो खुलाउने प्रयास नगर्दा जनता आक्रोशित भएका छन् । अब हजारौ जनता आन्दोलित हुनुपर्ने अवस्था आएको छ ।”

    नाल्दीको पहिराका कारण यातायात सञ्चालन नहुँदा बन्दीपुर गाउँपालिका–६, आबुँखैरेनी गाउँपालिका–५, देवघाट गाउँपालिका–३ र ४ का जनता मारमा छन् । उक्त सडकको पहिरा पन्छाई यातायात सञ्चालन गराउन बन्दीपुर गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी र पूर्वाधार विकास कार्यालयका प्रमुखलाई ध्यानाकर्षण गराइएपनि केही प्रगति नभएको थापाको भनाइ छ ।

    गण्डकी प्रदेश सरकारले यस मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्न प्रक्रिया अघि बढाइसकेको छ । सदरमुकाम दमौलीदेखि चितवनको घुमाउनेसम्म जोड्ने सो मार्ग अन्तर्गत दमौलीदेखि सँुढेसम्म कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको छ ।

    दमौलीदेखि सुडेसम्म करिब दश किमि खण्डमा ‘आक्सफाल्ट प्रविधि’ को सडक कालोपत्रका लागि निर्माण कार्य अघि बढाइएको छ । पूर्वाधार विकास कार्यालयले मैनाचुली–सफल जेभी काठमाडौसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो ।

    चितवनको घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सीमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिने जनाइएको छ । पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे आँबुखैरेनी मुग्लिन हुँदै घुमाउने पुग्न भन्दा बुद्धसिं मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्छ ।