प्रसिद्ध थानीमाइमा भित्रियो ६६ फूलको डोली, करिब पाँच हजार भक्तजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रसिद्ध थानीमाइमा भित्रियो ६६ फूलको डोली, करिब पाँच हजार भक्तजन

    खबरपुञ्ज संवाददाता

    ५ कार्तिक २०८१, मंगलवार

    दमाैली । तनहुँको प्रसिद्ध थानीमाइ मन्दिरमा कात्तिकको पहिलो मङ्गलबार आज ६६ फूलको डोली भित्रिएको छ । भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा विभिन्न जिल्लाबाट आएका भक्तजनले ६६ फूलको डोली भित्र्याएका हुन् । थानीमाइमा यो वर्षकै पहिलो पटक कात्तिकको मङ्गलबार फूलको डोली भित्रिएको हो ।

    त्यसक्रममा करिब चार हजार सात सय भक्तजनले मन्दिरमा पूजाआजा गरेको थानीमाइ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले खबरपुञ्जलाई जानकारी दिए । त्यस्तै सोमबार राति मन्दिरमा बत्ती बालेर जागाराम बस्ने भक्तजनको सङ्ख्या पाँच सय ५० जना रहेको थापाले बताए। उनले भने, “यो वर्षको पहिलो भएकाले आज बिहानै पाँच बजेदेखि भक्तजनको आगमन भएको थियो । तनहुँ लगायत छिमेकी जिल्लाबाट भक्तजनको आगमन भएको छ ।”

    प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाई छ ।