सत्ता गठबन्धनले भन्यो– भिड जम्मा गरेर रास्वपाले छानबिन र अदालत प्रभावित पार्न खोज्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सत्ता गठबन्धनले भन्यो– भिड जम्मा गरेर रास्वपाले छानबिन र अदालत प्रभावित पार्न खोज्यो

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०८१, बुधबार

    काठमाडौं । सत्तारूढ गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सडकमा भिड जम्मा गरेर छानबिन र अदालतलाई प्रभाव पार्न खोजेको निष्कर्ष निकालेको छ । बुधबार बालुवाटारमा बसेको गठनबन्धनको बैठकले रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढाइएकाले प्रश्न उठाउनु उचित नहुने निष्कर्ष निकालेको हो । 

    “छानबिनमाथि प्रश्न उठाउने कुरा नैतिकरूपमा उचित कुरा होइन् । छानबिनको न्याय निरुपणमा आफ्नो विधि र प्रक्रिया हुन्छ,” बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, “छानबिनको प्रक्रिया अघि बढिरहेका बेला सडकमा भिड जम्मा गरेर छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा र अदालतलाई समेत प्रभावित गर्ने हिसाबले गतिविधि गर्ने कुरा लोकतान्त्रिक दृष्टिकोणले उचित होइन ।” 

    फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा उचित नभएको उनको भनाइ छ । संसद्ले नै छानबिन गर्न निर्देशन दिएको विषयलाई सहजरूपमा लिनुपर्ने पोखरेलले बताए ।