यूएईलाई हराउँदै नेपाल यु-१९ महिला विश्‍वकपमा छनोट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    यूएईलाई हराउँदै नेपाल यु-१९ महिला विश्‍वकपमा छनोट

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०८१, बुधबार

    काठमाडौं । नेपाल आगामी वर्ष हुने आईसीसी यु-१९ टी२० क्रिकेट विश्वकपमा छनोट भएको छ । बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु-१९ महिला विश्वकपमा छनोट भएको हो ।

    यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन बनाइन् ।

    टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रन्जितले २० रन बनाइन् भने ‌‌ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।

    नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् । उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका रिया शर्मा र सीमा केसीले २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।

    नेपालले अब आगामी वर्ष मलेसियामा हुने आइसिसी यु-१९ महिला टी२० विश्वकप खेल्ने छ ।