म्याग्देमा साढे तीन करोड बराबरका पशुको निःशुल्क बिमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    म्याग्देमा साढे तीन करोड बराबरका पशुको निःशुल्क बिमा

    खबरपुञ्ज संवाददाता

    ३० कार्तिक २०८१, शनिबार

    दमौली । म्याग्दे गाउँपालिमा रु साढे तीन करोड मूल्य बराबरको पशुधन बिमा गरिएको छ । गाउँपालिकाको पशु सेवा उपशाखाको स्वीकृत पशु बिमा प्रिमियममा २० प्रतिशत अनुदान कार्यक्रममार्फत एक सय ८० जना किसानले पालेका पशुको निःशुल्क बिमा गरिएको हो ।

    पशु सेवा उपशाखाका पशु चिकित्सक डा विनय शाहका अनुसार सात सय ७८ पशुको बीमा गरिएको छ । त्यसमध्ये दुई सय ५९ गाई, एक सय ३३ भैँसी, तीन सय ७० बाख्रा, १६ सुङ्गुर छन् ।

    गाईभैँसीको कुल बिमा प्रिमियम शुल्क रु पाँच हजार हुने र रु पाँच हजारको ८० प्रतिशत शुल्क अर्थात् रु चार हजार सङ्घीय सरकारले बिमा कम्पनीलाई भुक्तानी गरेको छ । बाँकी २० प्रतिशत प्रिमियम गाउँपालिकाले किसानलाई बैंकिङ प्रणालीमार्फत उपलब्ध गराएको डा शाहले बताए ।

    “पशु बिमाका लागि किसानले कुनै रकम तिर्नुपर्दैन । ८० प्रतिशत रकम सङ्घ सरकारबाट र २० प्रतिशत रकम गाउँपालिकाले व्यहोर्ने गरेको छ”, उनले भने । पशुधनको बिमाबापत गाउँपालिकाले रु तीन लाख ५२ हजार एक सय ३१ खर्च गरेको शाहले जानकारी दिए । उनले भने, “पशुको बिमा कार्यक्रममा सहभागी हुन निवेदन माग गरिएको थियो । जसमध्ये एक सय ८० किसानले निवेदन दिएको र निवेदक दिएका किसानले पालेका करिब रु तीन करोड ५० लाख बराबरको पशुधनको निःशुल्क बिमा गरिएको छ ।”

    पशुधन बिमा गरेपछि पशुको मृत्यु भएमा पशुपालक किसानले क्षतिपूर्ति दाबी गर्न सक्नेछन् । त्यसको लागि पशु मरेको १५ दिनभित्र सम्बन्धित स्थानीय सदस्य संस्थामार्फत क्षतिपूर्ति दाबीपत्र भरी दाबी गर्नुपर्ने हुन्छ । क्षतिपूर्ति दाबी गर्दा सम्पूर्ण कागजात सङ्लग्न गरी दाबी गरेमा उल्लेखित कर्जा रकमको ८० प्रतिशत रकम (सुरक्षण बराबर) सम्बन्धित पशुपालक किसानलाई दिनुपर्ने प्रावधान छ । —