भानुमा पुस ९ देखि प्रथम भानु नगर महोत्सव हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    भानुमा पुस ९ देखि प्रथम भानु नगर महोत्सव हुँदै

    खबरपुञ्ज संवाददाता

    ८ मंसिर २०८१, आईतवार

    दमौली । तनहुँको भानुमा आगामी पुस ९ गतेदेखि प्रथम भानु नगर महोत्सव हुने भएको छ । भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजना तथा भानु नगरपालिकाको सह–आयोजनामा पुस ९ गतेदेखि १९ गतेसम्म भानु नगरपालिका–१ भन्सारमा प्रथम भानु नगर महोत्सव–२०८१ हुने भएको हो ।

    ‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको पहिचान’ भन्ने मूल नाराका साथ हुन उक्त महोत्सवको बारेमा जानकारी दिन शनिबार पत्रकार सम्मेलनको आयोजना गरियो ।

    पत्रकार सम्मेलनमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिकामा आयोजना गरिएको महोत्सव सफल बनाउन नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

    महोत्सवले भानुको जन्मथलो चुँदी रम्घाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा आफू विश्वस्त रहेको नगर प्रमुख त्रिपाठीको भनाई रहेको थियो ।

    पत्रकार सम्मेलनमा बोल्दै भानु नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक कृष्णकुमार श्रेष्ठले भानु नगरपालिका क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सवमा साना तथा घरेलु उत्पादनहरुलाई विशेष प्राथमिकता दिने समेत संयोजक श्रेष्ठको भनाइ थियो ।

    पत्रकार सम्मेलनमा महोत्सवका प्रवक्ता लालकुमार श्रेष्ठले महोत्सवमा कृषि प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, औद्योगिक लगायतका प्रदर्शनीहरु राखिने बताए । प्रवक्ता श्रेष्ठका अनुसार महोत्सवमा एक सय २० वटा स्टलहरु रहने छन् ।

    प्रवक्ता श्रेष्ठका अनुसार स्वदेशी र विदेशी पर्यटक गरी एक लाख भन्दा बढी पर्यटकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव भानु नगर उद्योग वाणिज्य सङ्घको अधूरो भवन निर्माणका लागि आयोजना गरिएको समेत प्रवक्ता श्रेष्ठले बताउनुभयो । त्यस्तै प्रवक्ता श्रेष्ठले महोत्सव आयोजना गर्न विभिन्न समितिहरु समेत गठन गरिएको जानकारी गराए ।