दमौली । तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा चौथो ऋषिङ अल्ट्रा म्याराथन हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यसहित गाउँपालिकाले अल्ट्रा म्याराथन आयोजना गरेको हो ।
पुस २७ गते ४३ किलोमिटर दूरीको म्याराथन प्रतियोगिता गर्न लागिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । खुल्ला म्याराथनका लागि पुस २६ गतेसम्म नाम दर्ता गर्न सकिने उनले बताए ।
धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुङ्गिनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ६५ हजार (कर बाहेक), द्वितीय हुनेलाई रु ४० हजार (कर बाहेक), तृतीय हुनेलाई रु २५ हजार (कर बाहेक) र सान्त्वना हुनेलाई रु दश हजार पुरस्कार प्रदान गरिनेछ ।
ऋषिङमा रहेका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्धेश्यसहित म्याराथन गर्दै आइएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।
गत वर्ष आयोजित तेस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लवका गोविन्द कार्कीले जितेका थिए । निर्धारित ४३ किलोमिटर दूरी २ घण्टा ५९ मिनेट ४० सेकेण्डमा पूरा गर्दै कार्कीले उपाधि जितेका थिए ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लवकै गोपाल तामाङ द्वितीय, त्रिभुवन आर्मी क्लवकै तिलकबहादुर सुनुवार तृतीय र काठमाडौका करण रावल चौथो भएका थिए ।