दमौली । नेकपा एमालेका स्थायी समिति सदस्य एवं गण्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले पार्टीको अनुशासन उल्लङ्घन गर्ने जो सुकैलाई पनि कारवाही हुने बताएका छन् ।
नेकपा एमाले भिमाद नगरपालिका वडा नम्बर ६ को वडा कमिटिको दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै नेता गुरुङले पटक–पटक पार्टी नीति र अनुशासनको उल्लङ्घन गरेकाले भीम रावललाई कारवाही गरिएको उल्लेख गरे ।
भीम रावल मात्र नभई अनुशासन उल्लङ्घन गर्ने जोसुकैलाई पनि कारवाही हुने उनको भनाइ थियो । पार्टीको नीति र अनुशासन उल्लङ्घन गर्ने कार्यकर्तालाई कारवाही गर्दा पार्टी स्वच्छ हुने उनको जोड थियो ।
गुरुङले विसं २०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गर्दै वडा, टोल र घर घरमा एमाले पुग्ने ग्रासरुट कार्यक्रम छिट्टै ल्याउने जानकारी दिए । सामाजिक सञ्जालमा पछिल्लो समय नेकपा एमाले प्रति नचाहिँदा प्रचारप्रसार गरिएको भन्दै गुरुङले त्यसको विरुद्ध एमालेका कार्यकर्ताहरुले सामाजिक सन्जालबाट नै प्रतिवाद गर्नुपर्ने बताए ।