व्यासगुफा-तनहुँसुर महिला म्याराथन हुने, धार्मिक तथा ऐतिहासिक स्थल जोड्ने प्रयास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    व्यासगुफा-तनहुँसुर महिला म्याराथन हुने, धार्मिक तथा ऐतिहासिक स्थल जोड्ने प्रयास

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०८१, बिहीबार

    दमौली । तनहुँको व्यास नगरपालिकाले खेलकुदमार्फत् धार्मिक तथा ऐतिहासिक स्थल जोड्ने प्रयास गरेको छ । धार्मिक पर्यटकीय स्थल व्यास गुफा र ऐतिहासिक स्थल तनहुँसुरलाई खेलुकदमार्फत् जोड्न महिला हाफ म्याराथन प्रतियोगिताको तयारी गरिएको हो ।

    धार्मिक रुपमा परिचित व्यासगुफा र ऐतिहासिक स्थलको रुपमा परिचित तनहुँसुरलाई खेलको माध्यमबाट जोड्ने उद्धेश्य सहित आगामी माघ १६ गते हाफ म्याराथन गर्न लागिएको नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले जानकारी दिइन् ।

    उनले भनिन्, “दुवै ठाउँ आ–आफ्ना हिसाबले प्रख्यात छन् । दुवै स्थललाई खेलकुदमार्फत् जोड्ने प्रयास स्वरुप महिला हाफ म्याराथनको तयारी थालेका छौ ।”

    प्रतियोगिता सञ्चालनका लागि उपप्रमुख दरैको अध्यक्षतामा आयोजक समिति गठन गरिसकिएको छ । महिलामा पनि पुरुष सरह आँट छ भन्ने सन्देश दिन महिला हाफ प्रतियोगिता आयोजना गरिएको उपप्रमुख दरैले बताइन् ।

    प्रतियोगितामा प्रथम हुनेलाई रु ४१ हजार ८१, द्वितीय हुनेलाई रु ३१ हजार ८१, तृतीय हुनेलाई रु २१ हजार ८१ र सान्त्वना हुने पाँच जनालाई जनही रु ११ हजार ८१ का दरले पुरस्कार वितरण गरिनेछ ।

    व्यासगुफादेखि अनसनचौतारी, दुर्गामन्दिर, भोर्लेटारचोक, गणेशमानचोक, वनकार्यालय, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुरदरवारसम्म दौड हुनेछ । उक्त दूरी २१ किमिको रहनेछ ।

    नगरपालिकाले प्रत्येक वर्षको माघ १६ गते ४४ किलोमिटर दूरीको अल्ट्रा म्याराथनको आयोजना गर्ने गरेको थियो । यस वर्ष अल्ट्रा म्याराथन नगरी महिला हाफ म्याराथन गर्न लागिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।