काठमाडौँमा सुरु भयो दक्षिण एसियाली कला प्रदर्शनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौँमा सुरु भयो दक्षिण एसियाली कला प्रदर्शनी

    खबरपुञ्ज संवाददाता

    ११ माघ २०८१, शनिबार

    काठमाडौँ । दक्षिण एसियाली महिला कलाकारको नारीवाद सम्बन्धी वृहत् कला प्रदर्शनी काठमाडौँमा सुरु भएको छ ।

    ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने कार्यक्रमको परिकल्पनाकार डा।अर्शिया लोखन्डवाला बताउँछिन् ।
    तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा काठमाडौँको बौद्धस्थित तारागाँउ सांस्कृतिक केन्द्रमा सुरु भएको प्रदर्शनी तीन महिना सम्म अवलोकन गर्न पाइने छ । प्रदर्शनीमा दक्षिण एसियाका १० जना महिला कलाकारको सिर्जना राखिएको छ ।

    प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैङ्गिक राजनीति जस्ता विषय सम्बोधन गर्ने डा। लोखन्डावाको भनाई छ ।
    प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशका एक एक महिला कलाकारका सृजना राखिएका छन् ।

    भारतीय कलाकारहरू अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला, नेपाली कलाकार अश्मिना रञ्जित, विधाता केसी र उमा विष्टसँगै श्रीलङ्काकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बङ्गलादेशकी तायबा बेगम लिपीका सृजना प्रदर्शनीमा छन् ।

    सबै कलाकारहरूले कलामार्फत पारम्परिक लैङ्गिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र सामाजिक संरचनाहरूको प्रभाव उजागर गर्ने प्रयास गर्नेछन् ।

    नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एशियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षहरूसँग जोड्ने प्रयास स्वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेशन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफको भनाइ छ ।

    प्रदर्शनीले महिलाको सम्मानसँगै दमनकारी दक्षिण एसियाली समाजको गहिरो र जटिल संरचनाको विश्लेषण गर्ने जनाइएको छ । शिल्पकला, फोटोग्राफी, इन्स्टलेसन, भिडियो र प्रदर्शनीमार्फत कलाकारले महिलाको जीवनको कथालाई उजागर गर्ने आयोजकको भनाइ छ ।

    कला प्रदर्शनीको पहिलो दिन अश्मिना रञ्जितको ‘सीता द आइडियल वाइफ २०२५’ मञ्चन गरिएको थियो । प्रस्तुतिले ब्राह्मण पितृसत्ताले महिलाहरूलाई कसरी गाँजेर राखेको छ भन्ने सन्देश दिन खोजिएको रञ्जितको भनाई छ । उनले महिलाको अधिकार र स्वतन्त्रता खोस्ने परम्पराअनुसारको विवाहमा गरिने ‘कन्यादान’ प्रथाको आलोचना गरेकी थिइन् ।

    लैङ्गिकताको कुरा बुझ्नको लागि जात व्यवस्था बारे बुझ्न आवश्यक रहेको प्रदर्शनीमा सहभागी लेखक तथा अभियन्ता सरिता परियार बताउँछिन् ।

    प्रदर्शनीमा विभिन्न समकालीन मुद्दाहरूलाई अन्वेषण गर्ने सृजना समेत समावेश छन् । पुष्पमाला एनको ‘अभेगा– द प्यासन २०१२’ ले रामायणका महिलाका पात्रहरूको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गर्नेछ ।

    त्यस्तै, तैयबा बेगम लिपीले आफ्ना सृजनामा विवाहको जटिलता र हिंसात्मक प्रवृत्तिलाई चित्रित गर्नुभएको छ । उमा विष्टले छाउपडी प्रथाको आलोचना गर्दै नेपाली महिलाका सङ्घर्षलाई प्रस्तुत गर्नुभएको छ ।

    प्रदर्शनीको टिकट शुल्क विद्यार्थीका लागि दुई सय तोकिएको छ भने अन्य अवलोकनकर्ताले तीन सय तिर्नु पर्ने छ ।