दमाैली । व्यास नगरपालिकास्थित चार वडा जोड्ने सडकको काम सुस्त भएको छ । गत जेठ महिनादेखि सुरू भएको सडकको स्तरोन्नतिको काम सुस्त भएपछि गति बढाउन नगरपालिकाले सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।
विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नतिको काम भइरहेकामा हालसम्म भौतिक प्रगति ९ दशमलव १३ र वित्तीय प्रगति ७ दशमलव ४६ प्रतिशत रहेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए।
बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कूल–कलेस्ती सडक जोडिने उक्त खण्डमा १० दशमलव ५५ किलोमिटर दूरी कालोपत्र हुनेछ । उक्त सडक स्तरोन्नतिका लागि गत वैशाख १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
सडक स्तरोन्नतिका लागि रू ४० करोड ८३ लाख ३५ हजार नौ सय २१ मा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि गत विसं २०८० पुस २६ गते रू ५२ करोड ७८ लाख ३० हजार चार सय २७ को ठेक्का आह्वान भएको थियो । त्यसमध्ये नौ वटा फर्मले बोलपत्र दर्ता गराएकामा २३ दशमलव ४१ प्रतिशत घटी बोलपत्र दर्ता गराउने फर्मको बोलपत्र स्वीकृत भएको थियो ।
विसं २०८२ असारसम्म यसको म्याद रहेको छ । सडकको काम सुस्त भएपछि निर्माण व्यवसायीलाई कामको गति बढाउन निर्देशन गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत गैरेले बताए। १० दशमलव ५५ किलोमिटर उक्त सडकखण्डमा कालोपत्र, नाला तथा अन्य संरचना निर्माण गरिने छ । उक्त सडकले व्यास नगरपालिका–११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, व्यास नगरपालिका–९ कुमालगाउँ, व्यास नगरपालिका–७ समता स्कूल, कलेस्ती लगायतका ठाउँ जोड्छ ।