व्यक्ति स्वस्थ भए मात्रै देश विकास सम्भव छ : स्वास्थ्य मन्त्री पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यक्ति स्वस्थ भए मात्रै देश विकास सम्भव छ : स्वास्थ्य मन्त्री पौडेल

    खबरपुञ्ज संवाददाता

    १३ माघ २०८१, सोमबार

    दमौली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले व्यक्ति स्वस्थ भएमात्रै देश विकास सम्भव रहेको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगाँैडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको सोमबार आयोजित ५५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले देशका नागरिक स्वस्थ भएमात्रै देशले प्रगति गर्न सक्ने उल्लेख गरे ।   
      
    उनले भने, “एकदमै धनी मानिस बिरामी छ,भने उसले सुखी जीवन बिताउन सक्दैन । विद्वान मानिस स्वस्थ छैन भने उसले देशका लागि केही गर्न सक्दैन ।” स्वस्थ मानिस मात्रै सुखी हुने बताउँदै मन्त्री पौडेलले व्यक्ति स्वस्थ हुनका लागि आहारव्यहारमा ध्यान दिनुपर्नेमा जोड दिए ।   
      
    उनले भने, “एउटा व्यक्तिको स्वास्थ्यमा पर्यावरणले कति असर गरेको हुन्छ भन्ने हाम्रो देशले थाहा पाउनसकेको अवस्था छैन । स्वस्थ नागरिक बनाउनका लागि धेरै पक्षमा ध्यान दिन जरूरी छ ।”   
      
    मन्त्री पौडेलले व्यक्ति स्वस्थ हुन सचेतना समेत जरुरी भएको बताए । उनले भने, “कोही पनि मानिसलाई रोगी हुने रहर हुँदैन, नजानेर व्यक्ति रोगी हुन्छ । त्यसैले सबै मान्छेलाई स्वस्थ कसरी बनाउन सकिन्छ भनेर चेतना विस्तार गर्न जरूरी छ ।” मन्त्री पौडेलले विद्यालयस्तरदेखि नै स्वास्थ्य विषय अनिवार्य पढाउनुपर्ने बताउँदै त्यसका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरिएको जानकारी दिए ।   
      
    मन्त्री पौडेलले नेपालका १६ लाख किशोरीलाई पाठेघरको रोगविरूद्ध एचपिभी खोप अभियान सुरू गर्न लागिएको उल्लेख गरे । स्वास्थ्य क्षेत्रलाई आम नागरिकको पहुँचसम्म लैजान वर्तमान सरकार प्रतिबद्ध रहेको मन्त्री पौडेलको भनाइ थियो ।   
      
    मन्त्री पौडेलले विश्वमाझ प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्ने शिक्षा आजको आवश्यकता रहेको चर्चा गरे । पञ्चमुनी यस क्षेत्रकै नमुना विद्यालय रहेको र यसले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ थियो ।   
    —