दमाैली । व्यास नगरपालिका-४ दमाैलीस्थित रत्नहरी मेमोरियल अस्पताल प्रा.लि. र भारतको टेक्नो इलेक्ट्रीक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेड (टीईईसीएल) बीच ४ सय केभी सबस्टेशन निर्माण परियोजनामा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौतामा रत्नहरी मेमोरियल अस्पतालको सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठ र टीईईसीएलका साइट इन्चार्ज हरेन्द्र प्रसादले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार दमौलीमा निर्माणाधीन ४ सय केभी सबस्टेशन परियोजनामा कार्यरत कामदारहरूका लागि आपतकालीन चिकित्सा सेवा, नियमित स्वास्थ्य परीक्षण, विशेषज्ञ परामर्श, शल्यक्रिया, फिजियोथेरापी, र एम्बुलेन्स सेवासहितका विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराइने अस्पतालका व्यवस्थापक लिलबहादुर थापाले जानकारी दिए ।
टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेड (टीईईसीएल) ले मिलेनियम च्यालेन्ज एकाउन्ट–नेपाल (एमसीए–नेपाल) ले सँग तनहुँ जिल्लाको दमौलीमा ४ सय केभी सबस्टेशन निर्माण गर्न ३८.८९ मिलियन अमेरिकी डलरको सम्झौता गरेको थियो ।
उक्त सबस्टेशन एमसीसी नेपाल अन्तर्गत निर्माण गरिने तीनवटा ४ सय केभी सबस्टेशनहरूमध्ये एक हो । एक हजार मेगा भोल्ट एम्पियर क्षमताकोे सबस्टेशनले रत्माटे, लेखनाथ र नयाँ बुटवल सबस्टेशनहरूसँग विद्युत प्रवाहका लागि महत्वपूर्ण जडानको रूपमा काम गर्नेछ ।अस्पताल र आयोजना बीच सम्झौता तीन वर्षको अवधिका लागि लागू हुने भएको छ । सोमबार अस्पताल सञ्चालक समितिका अध्यक्ष श्रेष्ठ र टीईईसीएलतर्फका स्वास्थ्य तथा सुरक्षा प्रबन्धक अर्जुन प्रसाद कोइरालाले सम्झौता पत्र बुझेका हुन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै अस्पताल सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले सम्झौताले परियोजनामा कार्यरत कामदारहरूको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
अस्पतालले ५० शैयाको सुविधा, २४ घण्टा आकस्मिक सेवा, प्रयोगशाला जाँच, रेडियोलोजी (एक्स–रे, अल्ट्रासाउन्ड), र एम्बुलेन्स सेवाका साथै शल्यक्रिया, दन्त सेवा, फिजियोथेरापी, र विशेषज्ञ परामर्श सेवा प्रदान गरिरहेको छ । अस्पतालमा एमडीजीपी डाक्टर, बालरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, र दन्त चिकित्सकहरूको अनुभवी टोलीले सेवा प्रदान गरिरहेका छन्।सम्झौताले दमौली क्षेत्रमा आयोजनाका कामदारहरूको स्वास्थ्य सेवा र ऊर्जा पूर्वाधार विकासमा नयाँ आयाम थप्ने आयोजनाका कोइरालाले बताए ।