तनहुँ जलविद्युत आयोजनाको सहयोगमा निर्माण भएको विद्यालय भवन हस्तान्तरण तथा उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ जलविद्युत आयोजनाको सहयोगमा निर्माण भएको विद्यालय भवन हस्तान्तरण तथा उद्घाटन

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०८१, मंगलवार

    दमौली निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण सम्पन्न भएको छ । 

    व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको २ तले ८ कोठा भएको पक्की भवन आयोजनाबाट आफ्नै खर्च एवम् प्राविधिक सहयोगमा निर्माण सम्पन्न गरिएको छ । आयोजनाबाट निर्माण गरिएको नवनिर्मित भवन १४ माघ सोमबारका दिन  विद्यालयको ३३ औं स्थापना दिवस तथा अभिभावक भेलाको अवसरमा आयोजित कार्यक्रमकाबीच हस्तान्तरण एवम् उद्घाटन गरिएको छ । 

    आयोजनाबाट विद्यालय भवन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरिएको हो । नवनिर्मित उक्त भवनको नगरपालिकाका प्रमुख न्यौपानले उद्घाटन गरे ।  

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले लागू गरेको डिजाइनअनुसार निर्माण गरिएको विद्यालय भवन भूकम्प प्रतिरोधी एवम् अपाङ्गमैत्री रहेको छ । 
    भौतिक रुपमा विद्यालयको पूर्वाधार बलियो र सुरक्षित हुँदा यसको सकारात्मक प्रभाव विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षकलगायत सबैलाई पर्ने आयोजनाले विश्वास लिएको छ । 

    भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच करिब दुई वर्षअघि १ करोड ३८ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजना प्रभावित क्षेत्र भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन पनि निर्माण अन्तिम चरणमा छ । 

    सामाजिक विकास कार्यक्रमअन्तर्गत हालसम्म व्यास तथा भिमाद नगरपालिका र ऋषिङ, म्याग्दे तथा बन्दीपुर गाउँपालिका आयोजना प्रभावित वडाहरुमा ६६ योजनाहरु सम्पन्न भएका छन् । ९ वटा योजनाहरु हाल सञ्चालित छन् ।