दमौली । तनहुँको व्यास नगरपालिकाको आयोजनामा सहिद दिवसको अवसर पारी बुधबार व्यास गुफादेखि तनहुँसुरसम्म महिला हाफ म्याराथन सुरु भएको छ । व्यास नगरपालिका–३ व्यासगुफाबाट सुरु भएको म्याराथन व्यास नगरपालिका–११ तनहुँसुरसम्म पुगेर टुङ्गिनेछ ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य एवं पूर्व अर्थमन्त्री जितप्रकाश आलेले खेलकुदले शारीरिक तन्दुरुस्त बनाउनुका साथै अनुशासित बन्न प्रेरित गर्ने बताए
धार्मिक पर्यटकीय स्थल व्यास गुफा र ऐतिहासिक स्थल तनहुँसुरलाई खेलुकदमार्फत् जोड्न महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । धार्मिक रुपमा परिचित व्यासगुफा र ऐतिहासिक स्थलको रुपमा परिचित तनहुँसुरलाई खेलको माध्यमबाट जोड्ने कार्यक्रमको प्रमुख उद्धेश्य रहेको उनको भनाइ छ ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ४१ हजार ८१, द्वितीय हुनेलाई रु ३१ हजार ८१, तृतीय हुनेलाई रु २१ हजार ८१ र सान्त्वना हुने पाँच जनालाई जनही रु ११ हजार ८१ का दरले पुरस्कार वितरण गरिनेछ ।
व्यासगुफादेखि अनसनचौतारी, दुर्गामन्दिर, भोर्लेटारचोक, गणेशमानचोक, वनकार्यालय, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुरदरवारसम्म दौड हुनेछ । उक्त दूरी २१ किमिको रहनेछ ।
नगरपालिकाले प्रत्येक वर्षको माघ १६ गते ४४ किलोमिटर दूरीको अल्ट्रा म्याराथनको आयोजना गर्ने गरेको थियो । यस वर्ष अल्ट्रा म्याराथन नगरी महिला हाफ म्याराथन गरिएको हो ।