पुलिमराङ सहिद पार्कको विकासमा सहयोग गर्न आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पुलिमराङ सहिद पार्कको विकासमा सहयोग गर्न आग्रह

    खबरपुञ्ज संवाददाता

    १६ माघ २०८१, बिहीबार

    दमौली । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद स्मारक कोष समितिले सहिदपार्कको विकासका लागि सहयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ ।
      
    सहिद दिवसको अवसरमा बुधबार पुलिमराङ आइपुगेका राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउँदै समितिले यस क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गरेको हो ।   
      
    बृहत् गुरुयोजनाअनुसार सहिदपार्कको सर्वाङ्गीण विकासका लागि रु १५ करोड बजेट आवश्यक पर्ने देखिएकाले बजेट विनियोजनका लागि पहल गरिदिनुहुन राष्ट्रपति पौडेलसमक्ष आग्रह गरिएको समितिका अध्यक्ष एकबहादुर गुरुङले जानकारी दिए ।   
      
    सहिद स्मारक पार्क तथा पुलिमराङको वर्तमान अवस्थाका बारेमा राष्ट्रपति पौडेल जानकार रहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले यस क्षेत्रको विकास निर्माणअन्तर्गत पक्की सडक, बिजुलीको स्तरीय व्यवस्थापन, पर्यटकीय सम्भावना, कृषि एवं आयआर्जनका विषयमा स्थानीयलाई देखिने गरी विकास निर्माणका लागि सरकारसँग सहयोग उपलब्ध गराउने सन्दर्भमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गरे ।   
      
    पुलिमराङस्थित सहिदपार्कमा भरत गुरुङ, शमशेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङको लहरै अर्धकदको प्रतिमा छन् । जहाँनिया राणाशासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा ज्यान गुमाएका उल्लिखित सहिदहरूको जन्म पुलिमराङमा भएको हो ।   
      
    यसै सन्दर्भमा सहिद स्मारक कोष समिति २०५१ सालमा स्थापना भएको र २०६६ सालमा छ जना सहिदको अर्धकदको सालिक राखिएको समितिले जनाएको छ ।