चितवन । नारायणघाटबाट काठमाडौं जाँदै गरेको माइक्रो धादिङमा दुर्घटना भएको छ। शनिबार बिहान ८ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० पानीधारास्थित पृथ्वी राजमार्गमा नारायणघाटबाट आउँदै गरेको बा २ ख ७६३६ नम्बरको माइक्रो दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो आफै अनियन्त्रित भएर सडकमा पल्टिएको थियो। दुर्घटनामा भएको माइक्रोमा १४ जना यात्रु सवार थिए। उनीहरूमध्ये ५ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरू पाँचै जना चितवनका छन्।
भरतपुर महानगरपालिका-९ का ४३ वर्षीय प्रकाश अधिकारी, वडा नम्बर ७ का ५० वर्षीय मनबहादुर पुन, वडा नम्बर ८ की २५ वर्षीया स्वस्तिका पौडेल, २३ वर्षीया अञ्जली रिजाल र वडा नम्बर ५ का ५० वर्षीय सुदर्शन थापा छन्।