दमौली । तनहुँको बन्दीपुरका पर्यटन व्यवसायीले विदेशमा बन्दीपुर भ्रमण वर्ष २०२५ को प्रचारप्रसार गरेका छन् । टर्कीको इस्तानबुलमा आयोजित ‘एक्जिविसन एण्ड ट्रेड शो’ कार्यक्रममा बन्दीपुरका पर्यटन व्यवसायीले बन्दीपुर भ्रमण वर्ष २०२५ को प्रचारप्रसार गरेका हुन् ।
पर्यटन व्यवसायी आशुतोष प्रधान र हरि लामिछानेले उक्त कार्यक्रममा सहभागिता जनाउँदै बन्दीपुर भ्रमण वर्ष र बन्दीपुरको पर्यटन सम्भावनाबारे जानकारी गराएका छन् । बन्दीपुरको इतिहास, संस्कृति, प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनका बारेमा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरिएको प्रधानले बताए ।
बन्दीपुर भ्रमण वर्ष २०२५ का सचिवालय संयोजक वैश गुरुङले अन्तर्राष्ट्रिय मञ्चमा बन्दीपुरको बारेमा प्रचारप्रसार हुनु खुसीको कुरा भएको बताए । उनले भने, “बन्दीपुरको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यसहित बन्दीपुर भ्रमण वर्ष घोषणा भएको छ । अन्तर्राष्ट्रिय मञ्चमा यहाँका बारेमा प्रचारप्रसार भएपछि यहाँको बारेमा थप प्रचार हुनेमा विश्वस्त छौ ।”
बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेकामा त्यसलाई दोब्बर बनाउँदै यहॉको पर्यटन प्रबद्र्धन गर्ने लक्ष्य सहित भ्रमण वर्ष सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको भनाइ छ ।
गाउँपालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताए । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पु¥याउने लक्ष्य लिइएको थापाले बताए । भ्रमण वर्षका क्रममा बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको उनको भनाइ थियो ।