तनहुँ र चितवन जोड्ने देवघाटको झोलुङ्गे पुलको विकल्प खोज्न माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ र चितवन जोड्ने देवघाटको झोलुङ्गे पुलको विकल्प खोज्न माग

    खबरपुञ्ज संवाददाता

    २६ माघ २०८१, आईतवार

    दमौली । तनहुँको देवघाट र चितवन जोड्ने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बन्दै गएकाले यस विकल्प खोज्न स्थानीयवासीले माग गरेका छन् । यो पुल हुँदै दैनिक हजारौ भक्तजनले आवतजावत गर्ने गरेको र पुल जीर्ण हुँदै गएकाले अब यसले धान्न नसक्ने अवस्था रहेको स्थानीयवासीको भनाइ छ ।

    भागवत कथावाचक इश्वरकृष्ण महाराजको सङ्कल्प र विश्व जागरण महाअभियान ट्रष्टको आयोजनामा गत माघ १ गतेदेखि देवघाटमा जारी महा महोत्सवमा दैनिक कम्तीमा दश हजार भन्दा बढि सर्वसाधारणले पुलबाट आवतजावत गर्ने गरेको दावी छ ।

    विसं २०३७ सालमा निर्मित उक्त पुल जीर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएपनि अब यो पुलले धान नसक्ने स्थानीय शिवराज पौडेलको भनाइ छ । एकै पटकमा सयौंजनाले पुल तर्दा उक्त पुल पिङ झैं हल्लने गरेको पौडेलले बताए ।

    उनले भने, “अब यो पुलको विकल्प खोज्नुपर्ने बेला आएको छ । पुल केही भइहालेमा सयौं नागरिकको ज्यान जोखिममा पर्ने देखिएको छ ।” देवघाट जानका हाल उक्त झोलुङ्गे पुल बाहेक ठिमुरा, दासढुङ्गा र नवलपुर जोड्ने हर्दीमा पक्की पुल सञ्चालनमा रहेपनि देवघाट पुग्ने भक्तजन मध्ये करिब ९५ प्रतिशत चितवनको आपँटारी हुँदै यही पुल प्रयोग गर्ने गरेको पौडेलले बताए ।

    उनले भने, “निर्माण भएयता यो ४४ वर्षमा करिब दुई करोड भन्दा बढि भक्तजनले उक्त पुलबाट आवतजावत गरिसकेका छन् । यो झोलुङ्गे पुलको विकल्प सोच्नु पर्ने बेला आएको छ ।”

    यस वर्ष माघ १ गते माघे सङ्क्रान्ति मेला, माघ १२ गते षट्तिला एकादशी र माघ १६ गते माघे औंशीको दिनमा त उक्त पुलबाट एक लाख भन्दा बढि सर्वसाधारणले आवत जावत गरेको दावी गरिएको छ ।

    देवघाट गाउँपालिका–५ का करिब ८० प्रतिशत नागरिकले चितवनको भरतपुर आउन सबैभन्दा छोटो दूरीको सोही पुल नै प्रयोग गर्दै आएका छन् । सोही पुलबाट दैनिक सयौं स्थानीयहरुले मोटरसाइकल पनि वारपार गर्दै पनि आएका छन् । हरेक वर्ष साउन महिनामा हुने बोलवम मेला, बालाचर्तुदशी, माघे सङ्क्रान्ति मेला, औंशी, एकादशी, सूर्य ग्रहण, चन्द्र ग्रहण लगायतका धार्मिक पर्व तथा मेलाहरुमा दैनिक दशौं हजारले उक्त पुलबाट आवत जावत गर्छन् ।

    स्थानीय रोशन श्रेष्ठले पुल जीर्ण भईसक्दा पनि सङ्घीय सरकारको कुनै ध्यानाकर्षण नभएको र स्थानीय तहले पनि भूमिका नखेलेको गुनासो गरे ।

    देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उक्त पुल वर्षेनी मर्मत सम्भार मात्र गरेर नहुने भन्दै सो पुलको आसपासमा पक्की पुल निर्माणको थालनी हुनुपर्ने बताए । देवघाट धार्मिक पर्यटनका लागि देश विदेशमा प्रख्यात बन्दै गइरहेको हुँदा सरकारले देवघाट आउने भक्तजन र स्थानीय सर्वसाधारणको सुविधा र सुरक्षाको लागि पक्की पुल बनाउनुपर्नेको उनको भनाइ छ । उनले भने, “गाउँपालिकाको स्रोत साधनले मात्रै सम्भव छैन । प्रदेश सरकार र सङ्घीय सरकारले नै पहलकदमी लिनुपर्छ । त्यसका लागि हामी आग्रह गर्छौ ।”