दमौली । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले देवघाटधाममा निर्माणाधीन दिव्यधाम निर्माणमा सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । देवघाटमा जारी महामहोत्सवको २७ औं दिन आइतबार सम्बोधन गर्दै मन्त्री अधिकारीले दिव्यधाम गौरवको विषय भएकाले यसमा सरकारका तर्फबाट सहयोग रहने बताए ।
मन्त्री अधिकारीले देवघाट दिव्यधाम निर्माणका लागि विदेशबाट आयात गरिने मार्वलमा कर छुट दिने विषयमा मन्त्रीपरिषदबाट पारित गराउने उल्लेख गरे । आफू सनातन धर्मप्रति निकै आस्था राख्ने मान्छे भएको भन्दै मन्त्री अधिकारीले यस अघि नै महा–महोत्सवमा आउन खोजेको भएपनि समय अभावको कारण नपाएको र अहिले आउँदा आनन्द महशुस भएको उल्लेख गरे ।
देवघाट दिव्यधामले देवघाटको धार्मिक पर्यटनमा प्रबद्र्धनमा सहयोग पुग्ने मन्त्री अधिकारीको भनाइ थियो ।
तीन सय ६५ कोठाहरूको संरचनासहित वृद्धवृद्धा र असहायहरूको लागि दीर्घकालीन आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले देवघाट गाउँपालिका–५ तनहुँमा मातापिता सेवाश्रम निर्माणाधीन छ । देवघाट दिव्यधाममा दैनिक रुपमा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको छ ।
सङ्घीय सरकारका मन्त्री, बागमती तथा गण्डकी प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख राजनीतिक दलका सभापतिदेखि वरिष्ठ नेताहरु, प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा प्रदेश
सभाका सांसदहरु, विभिन्न उच्च पदस्थ प्रशासक तथा व्यक्तिहरु, चलचित्रका नायक, नायिका, गायक, गायिकाहरु तथा देशविदेशबाट उल्लेख्य भक्तजनको यहाँ सहभागिता रहने गरेको छ ।