दमाैली । प्रथम शहीद लखन थापा मगरको १४८ औ स्मृति दिवसको अवसरमा शुक्रबार साँझ दमाैलीमा दीप प्रज्वलन गरिएको छ ।
नेपाल मगर विद्यार्थी संघ तनहुँले व्यास नगरपालिका-३ प्रशासनचाेकमा दीप प्रज्वलन गरेकाे हाे ।
वि.सं. १८९१ मा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७, काहुले भङ्गार, बुंकोटमा जन्मिएका लखन थापा मगरको वास्तविक नाम लक्ष्मणसिंह थापा मगर हो । उनले राणा शासन विरुद्ध जनविद्रोह सञ्चालनका क्रममा मनकामना देवीको पहिलो पूजारी सिद्ध लखन थापाको प्रसिद्धिलाई उपयोग गरी विद्रोहमा ठूलो जनसमर्थन जुटाउने रणनीतिका साथ ‘लखन’ भन्ने नाम ग्रहण गरेका थिए ।
वि.सं. १९११ मा नेपाली सेनाको पुरानो गोरख गण (मगर पल्टन) मा भर्ना भएका लखन थापा मगर ई.सं. १८५७ को भारतीय स्वन्त्रता संग्राम (सिपाही विद्रोह) दबाउन भारतको लखनउ पुगेका थिए (प्रमोद शमशेर राणा, राणा शासनको वृतान्त, तेस्रो संस्करण वि.सं. २०७०, पृ. ८८) । त्यतिबेला जंगबहादुरको निर्णय बमोजिम भारतको सिपाही विद्रोह दवाउनलाई नेपालले सैन्य सहयोग गरेको थियो । उक्त सिपाही विद्रोह दबाउन नेपाली सेनाका २५ वटा पल्टन जंगबहादुरकै नेतृत्वमा भारत जाँदा लखन थापा पनि बाध्य भएर लखनउ गएका थिए ।