दमाैली । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शनिबारदेखि दमौलीमा १६ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरे ।
सो अवसरमा समन्वय प्रमुख वाग्लेले खेलकुदले विद्यार्थीलाई असल नागरिक बन्न सघाउने बताउँदै खेलकुदलाई मनोरञ्जनको माध्यममात्रै बनाउन नहुने बताए। खेलकुदकै कारण नेपाल विश्वमाझ प्रख्यात भएको बताउँदै वाग्लेले विद्यार्थीलाई अनुशासित र स्वस्थ बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले रनिङशिल्ड प्रतियोगिताका लागि खेलकुद मन्त्रालयबाट बजेट विनियोजन नभएपनि जिल्लास्थित स्थानीय तहको सहयोगमा रनिङशिल्ड आयोजना गर्न सकिएको बताए ।
भानु नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले खेलकुद पूर्वाधार अभावमा खेलाडीले प्रतिभा प्रस्फूटन गर्न नपाएको बताए ।
आइतबारसम्म सञ्चालन हुने प्रतियोगिताका लागि जिल्लास्थित नौ स्थानीय तहले आर्थिक सहयोग गरेका छन् । प्रत्येक स्थानीय तहलाई टिम दर्ताका लागि रु २५ हजार शुल्क तोकिएको खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगितामा छात्रछात्रा कराँते, छात्रछात्रा तेक्वान्दो, छात्रछात्रा उसु, छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, छात्रछात्रा एथलेटिक्सका खेल सञ्चालन हुनेछ ।