काठमाडौ । राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले वडासचिवको घाँटी न्याक्दै कुटपिट गरेका वडा अध्यक्षलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।
राष्ट्रिय सभाको मंगलबार बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसाललाई घाँटी न्याक्दै आक्रमण गरेको थिए।
उनले भने,‘अध्यक्ष महोदय अहिले जनप्रतिनिधिबाटै कर्मचारी कुटिएको छ। सोमबार तनहुँको बन्दीपुर गाउँपालिका ६ का वडाअध्यक्ष बलबहादुर गुरुङले वडा सचिव नविन भुसालमाथि कुटपिट गरेको छ। रूपन्देहीको रोहनी गाउँपालिका २ का वडा अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेलाई कुटपिट गरेको छ। यो कुटपिटको घोर भर्त्सना गर्दछु। र यी वडा अध्यक्षलाई कारबाही गर्न सरकारसँग माग गर्दछु।’
उनले भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारप्रति सरकारको ध्यानाकर्षण समेत गराएका छन्।