संविधान सुदृढ बनाउँदै व्यवस्था बलियो बनाउने जिम्मेवारी काङ्ग्रेसको हो : महामन्त्री थापा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    संविधान सुदृढ बनाउँदै व्यवस्था बलियो बनाउने जिम्मेवारी काङ्ग्रेसको हो : महामन्त्री थापा

    खबरपुञ्ज संवाददाता

    २३ चैत्र २०८१, सोमबार

    दमाैली, २५ चैत । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान सुदृढ बनाउँदै व्यवस्था बलियो बनाउने जिम्मेवारी नेपाली काङ्ग्रेसको रहेको बताएका छन्। नेपाल तरुण दल तनहुँले साेमबार दमौलीमा आयोजना गरेको तरुण यात्रा पुस्तक विमोचन एवं प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले संविधान सुदृढ बनाएर वर्तमान व्यवस्थालाई बलियो र विश्वसनीय बनाउन आवश्यक रहेको उल्लेख गरे ।

    महामन्त्री थापाले नेपालको हरेक परिवर्तनमा नेपाली काङ्ग्रेसको महत्वपूर्ण भूमिका रहँदै आएको बताउँदै व्यवस्थाका विरोधमा केही असन्तुष्टि सुनिएकाले त्यस्ता पक्षलाई मिलाउने काम पनि काङ्ग्रेसले गर्ने उल्लेख गरे ।

    महामन्त्री थापाले विसं २०८४ साल अगावै पार्टीको महाधिवेशन हुने भएकाले महाधिवेशन हुन्न की भन्ने नसोच्न आग्रह गरे । उनले भने, “कोही कसैपनि द्विविधामा नपर्नुहोला । आम चुनावपछि पार्टीको महाधिवेशन हुन्छ भन्ने सोच्नुभएको छ भने त्यो भ्रममात्रै हो । २०८४ अगावै पार्टीको महाधिवेशन हुनेछ ।”

    महामन्त्री थापाले काङ्ग्रेसभित्र भएका असन्तुष्टि र असमझदारी हटाएर पार्टीलाई बलियो बनाउनुको विकल्प नभएको चर्चा गरे । चैत महिनाभित्र पार्टीका क्रियाशील सदस्यता नवीकरण गरेर पार्टीका कामलाई थप गति दिइने उनले बताए ।

    शिक्षकहरुको आन्दोलन र शिक्षकहरुको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताउँदै सरकारको काममा ढिलाइ भइरहेकाले त्यसतर्फ सुधार गर्न आवश्यक रहेको उनकाे भनाइ थियो ।

    महामन्त्री थापाले तरुणका हरेक मुद्धासँग तरुण दल जोडिनुपर्ने बताए । तरुण दलले रोजगारी अवसर सिर्जना गर्ने खालका मुद्धा उठाउनुपर्ने उनकाे जोड थियो । उनले भने, “तरुणका हरेक मुद्धा उठाउन सक्यो भने त्यस्ता युवाहरु तरुण दलसँग जोडिँदै जानेछन् । तरुण दलले तरुणका हरेक मुद्धा सम्बोधन गर्न सक्नुपर्छ ।”