व्यास गुफा क्षेत्रमा गङ्गा आरती सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास गुफा क्षेत्रमा गङ्गा आरती सुरु

    खबरपुञ्ज संवाददाता

    ३० चैत्र २०८१, सोमबार

    दमाैली, १ वैशाख । तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास गुफा क्षेत्रमा नयाँ वर्षको अवसर पारी गङ्गा आरती सुरु भएको छ ।

    चार वेद अठार पुराणका रचयिता वेदव्यासको जन्मभूमि र मादीसेती दोभानमा साेमबारदेखि गङ्गा आरती सुरु गरिएको हो । व्यास गुफा क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न सन्ध्याकालिन गङ्गा आरती सुरु गरिएको व्यास क्षेत्रका प्रमुख संरक्षक दामोदर बाबाले जानकारी दिए। व्यास गुफा परिसरको अगाडि मादी र सेती गङ्गा तटमा मञ्च बनाई गङ्गा आरती सुरु गरिएको छ ।

    वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजना एवं व्यास नगरपालिका–३ को आर्थिक सहयोगमा गङ्गा आरती प्रारम्भ गरिएको हो । तीन जनाले संयुक्त रूपमा दैनिक रूपमा आरती गर्ने व्यवस्था मिलाइएको छ ।

    मङ्लबारकाे आरतीका लागि व्यास नगरपालिका–३ का वडा सदस्य दधिराज घिमिरेले छोराको जन्मदिन र आमाको स्मृतिका लागि आर्थिक सहयोग गरेका छन् । बुधबारका लागि दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले सहयोग गर्ने जनाइएको छ ।

    उक्त गङ्गा आरतीका लागि व्यास नगरपालिका–३ बाट रु एक लाख ४० हजार, व्यास नगरपालिकाबाट बत्ती विस्तारका लागि रु १ लाख ५० हजार सहयोग भएको छ ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गङ्गा आरती कार्यको शुभारम्भ गर्दै व्यास गुफा क्षेत्रको प्रचारप्रसारका लागि यो कार्यले सहयोग पुग्ने बताए। उनले भने, “व्यास गुफा क्षेत्रलाई विश्वमाझ चिनाउन विभिन्न कार्य गरिएका छन् । त्यसका लागि यसले इट्टा थप्ने कार्य गरेको छ ।”

    गङ्गा आरती दैनिक साँझ छ बजेपछि गरिनेछ । यस कार्यका लागि व्यास नगरपालिका–३ ले रु एक लाख ४० हजार सहयोग गरेको वडाध्यक्ष अनुप रानाले जानकारी दिए। व्यास गुफासम्म जाने बाटो अँध्यारो भएकाले बाटोमा बत्ती जडान गरी उज्ज्यालो बनाइने रानाले बताए ।