फोहरलाई मोहर बनाउन सिकाउँदै व्यास नगरपालिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फोहरलाई मोहर बनाउन सिकाउँदै व्यास नगरपालिका

    अन्जना तिमिल्सिना

    १६ जेष्ठ २०८२, शुक्रबार

    दमौली, १६ जेठ । फोहोर मैला व्यवस्थापनमा वर्षौंदेखि विभिन्न कठिनाइसँग जुध्दै आएको व्यास नगरपालिकाले फोहोर बिक्रीबाट आम्दानी गर्न थालेको छ।

    फोहोरलाई मोहोर बनाउने भन्दै कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गरी संकलन गर्दै बिक्री गर्न योग्य फोहोरबाट नगरपालिकाले आम्दानी गर्न थालेको हो। स्रोतमा नै गएर कुहिने नकुहिने फोहोर अलगअलग संकलन गरी पुनः प्रयोग गर्न मिल्ने नकुहिने फोहोरलाई नगरपालिका भित्र नै व्यवस्थापन गरी बिक्री वितरण  गर्ने गरिएको छ ।

    फोहोर मैला व्यवस्थापनका लागि प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहोर वर्गीकरणका उपाय सिकाउने काम गरेको व्यास नगरपालिकाले बिहिबार र शुक्रबार फोहोरमैला व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।

    व्यास नगरपालिकाको आर्थिक सहयोग र एकता महिला सशक्तीकरण सञ्जाल व्यास १ भादगाउँको आयोजनामा ‘उत्सर्जित फोहोरलाई मोहोरमा बदलौँ’ भन्ने नाराका साथ फोहोरमैला व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो।

    बिहीबार व्यास १ मा रहेका ३२ वटा टोल विकास संस्था र व्यास ३ मा रहेका आठवटा टोल विकास संस्थाका अध्यक्षहरूलाई अभिमुखीकरण प्रदान गरिएको छ भने शुक्रबार व्यास १ का ८ वटा र व्यास ३ का आठवटा गरी १६ वटा टोल आमा समूहका अध्यक्षका साथै एकता महिला सशक्तीकरण सञ्जालका आजीवन सदस्यलाई फोहोरमैला व्यवस्थापन सम्बन्धी अभिमुखीकरण प्रदान गरिनेछ।

    फोहोरमैला व्यवस्थापन सम्बन्धी प्रशिक्षण स्रोत व्यवस्थापन प्रालीका परामर्शदाता कृष्ण भण्डारीले प्रदान गरेको बताइएको छ। उनले फोहोरमैलाको दिगो व्यवस्थापन, फोहोरमैला व्यवस्थापनमा टोल विकास संस्थाको काम, कर्तव्य र सबै प्रकारका फोहोर एकै ठाउँमा सङ्कलन गर्दा आइपर्ने समस्या फोहोरलाई मोहोर बनाउने तरिका लगायतका बारेमा प्रशिक्षण दिएका छन्।

    एकता महिला सशक्तीकरण संजालकी अध्यक्ष कल्पनादेवी पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले फोहोरबाट आम्दानी गरेको बताए । उनले फोहोर मोहोर हो भने नबुझ्दा आम्दानीलाई खाल्डोमा हालेको स्मरण गर्दै कुहिने, नकुहिने र पुन: प्रयोग गर्न मिल्ने फोहोरको छुट्टाछुट्टै संकलनमा नगरबासीले सहयोग गर्नुपर्ने बताए।

    न्यौपानेले व्यासनगर क्षेत्रमा हरेक वर्ष ५००को हाराहारीमा घर निर्माण हुने गरेको हुँदा सहरी फोहोर व्यवस्थापन जटिल भए तापनि यसमा टोलहरूको साथ र सहयोग रहेमा नगरपालिकाले सहज रूपमा फोहोरमैला व्यवस्थापन गर्न सक्ने बताए । नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लाष्टिकजन्य वस्तु छुट्याएर आम्दानी गरेको र  फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधानमा नगरपालिका अगाडि बढेको न्यौपानेको भनाई थियो ।

    न्यौपानेले नगरपालिकाले कुहिने फोहोरलाई दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी  बाँयोग्यास उत्पादन गर्ने काम गरिरहेको बताएका छन् ।

    कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रमेश चन्द्र हड्खलेले टोलको फोहोरमैला व्यवस्थापनमा टोल विकास संस्था सक्रिय भएमा फोहोरमैला व्यवस्थापन सहज हुने बताए ।

    त्यसैगरी कार्यक्रममा सहभागीहरू एकता महिला सशक्तीकरण सञ्जालकी अध्यक्ष गिरिमाया मिश्र, निर्मल माविका सहायक प्रधानाध्यापक वीरबहादुर बस्नेत,  वडा महिला समन्वय समिति व्यास ३ कि कोषाध्यक्ष दिपा श्रेष्ठ, भादगाउँ टोल विकास संस्थाका अध्यक्ष दीपक घिमिरे, चौतारा टोल विकास संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठ, विज्ञान चौर टोल विकास संस्थाका अध्यक्ष भरत पन्त लगायतले ‘मेरो फोहोर म आफै व्यवस्थापन गर्छु’ भन्ने प्रतिज्ञा सबैले गर्नुपर्ने बताए।

    उनीहरूले घरबाट निस्कने पुन प्रयोग गर्न मिल्ने प्लास्टिकजन्य फोहोरलाई नगरपालिकाबाट किन्ने व्यवस्था भएमा नकुहिने फोहोर व्यवस्थापनमा थप सहजता हुने विश्वास व्यक्त गरे । एकता महिला सशक्तीकरण सञ्जालकी उपाध्यक्ष गीता शाहीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अप्सरा रानाभाटले गरेकी थिइन् ।