बुल्दीखोलाबाट आठ हजार किलो फोहर सङ्कलन, बाल मन्दिर प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बुल्दीखोलाबाट आठ हजार किलो फोहर सङ्कलन, बाल मन्दिर प्रथम

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०८२, शनिबार

    दमाैली, १७ जेठ । तनहुँको सदरमुकामस्थित बुल्दीखोलाबाट आठ हजार भन्दा बढी किलो फोहर सङ्कलन भएको छ । सामाजिक अभियान्ता सुदीप गफ्फारको नेतृत्वमा शनिबार भएको वृहत सरसफाइ अभियानबाट आठ हजार एक सय ६८ किलो फोहर सङ्कलन भएको हो ।

    बुल्दीखोलालाई स्वच्छ र सफा बनाउँदै भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्धेश्यसहित व्यास नगरपालिका–१ करङकाठबाट व्यास नगरपालिका–२ स्थित आदिकवि भानुभक्त क्याम्पस जाने कल्भर्टसम्म भएको सरसफाइ अभियानबाट उक्त मात्रामा फोहर सङ्कलन भएको हो ।

    सरसफाइका क्रममा व्यास नगरपालिका–२ स्थित बाल मन्दिर माध्यमिक विद्यालय प्रथम भएको छ । बाल मन्दिरका विद्यार्थीले १२१५.८२ किलो फोहर सङ्कलन गरेका छन् ।

    त्यस्तै व्यास नगरपालिका–१ स्थित लर्ड बुद्ध एकेडेमी द्वितीय भएको छ । लर्ड बुद्धका विद्यार्थीले १२०४.२२ किलो फोहर सङ्कलन गरेका छन् ।

    प्रथम भएको बाल मन्दिरलाई रु दश हजार र द्वितीय भएको लर्ड बुद्धलाई नगद रु पाँच हजारका साथै प्रमाणपत्र प्रदान गरिएको छ । सरसफाइ अभियानमा १७ टिमको सहभागिता थियो ।

    सरसफाइ अभियानका क्रममा नेपाली सेना, नेपाल प्रहरी, विभिन्न टोल विकास संस्था, विद्यार्थी, खेलाडी, विभिन्न क्लवको सहभागिता रहेको थियो ।

    यसअघि कार्यक्रमको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यास नगरपालिकालाई फोहरमैला व्यवस्थापन कार्यका लागि यस्ता अभियानले सहयोग पुग्ने उल्लेख गरे । व्यास नगरपालिकाले घरबाटै फोहरको वर्गीकरण गरी फोहर सङ्कलन गर्ने कार्य गरिरहेको र फोहरलाई मोहरमा परिवर्तन गरेको नगरप्रमुख न्यौपानेको भनाइ थियो । बुल्दीखोला वृहत सरसफाइ अभियानले आम मानिस जनचेतना वृद्धि गर्न सहयोग पुग्ने न्यौपानेले उल्लेख गरे ।

    सामाजिक अभियान्ता गफ्फारले बुल्दी खोला सफा र कञ्चन हुनुपर्छ भन्ने मान्यतासहित आफू निरन्तर यो अभियानमा लागेको बताए । मासिक रुपमा बुल्दीखोलामा नियमित रुपमा सरसफाइ भइरहेको जानकारी गराउँदै उनले वर्षको एकपटक सबैलाई सहभागी गराएर वृहत रुपमा सरसफाइ गर्ने अभियान विगत वर्षदेखि सुरु गरेको बताए ।

    सरसफाइ अभियानलाई प्रतिस्पर्धात्मक र मनोरञ्जनात्मक बनाउन पुरस्कारको व्यवस्था गरिएपनि यसको मुख्य उद्धेश्य भनेको जनचेतना नै भएको उनकाे भनाइ थियो ।