सेवा निवृत्त भएपछि शितलचिनी खेतीमा पराजुली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सेवा निवृत्त भएपछि शितलचिनी खेतीमा पराजुली

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०८२, आईतवार

    दमौली, १८ जेठ । यहाँ जिल्लामै पहिलो पटक स्थापना गरिएको मोरिङ्गा (शीतलचिनी) उद्योगबाट उत्पादन सुरु भएको छ । भानु नगरपालिका–१ साजबोटे निवासी गङ्गाबहादुर पराजुलीले स्थापना गरेको एभरेष्ट मोरिङ्गा उद्योगबाट ‘मोरिङ्गा पाउडर’ उत्पादन सुरु भएको हो ।

    सरकारी सेवाबाट अवकाशपश्चात् दुई वर्षअघि उद्योग स्थापना गरेका उनले यस वर्ष पहिलो पटक उत्पादन भएको जानकारी दिए । ५० रोपनी जग्गा भाडामा लिएर शीतलचिनीको खेती गरेकामा १८० किलोग्राम उत्पादन भएको उनले बताए ।

    “उत्पादित मोरिङ्गा पाउडरमध्ये १०० किलो लुम्बिनीस्थित मोरिङ्गा एग्रो उद्योगलाई प्रतिकिलो रु एक हजारका दरले बिक्री गरिसकेको छु । बाँकी ८० आफैँले प्याकेजिङ गरेर बिक्री गर्ने तयारी छ”, पराजुलीले भने, “जिल्लामै पहिलो उद्योग हो यो । यहाँबाट उत्पादन भएको मोरिङ्गा पाउडरलाई प्रचारप्रसार गर्नुपर्छ भन्ने सोचसहित आफैँले प्याकेजिङ गरेर बिक्री गर्न लागेको छु ।”

    अवकाशपश्चात् यस खेतीबारे आवश्यक अध्ययन गरेर रु २० लाख लगानीमा उद्योग स्थापना गरेको उनले बताए । विगतमा झाँडी रहेको जग्गा भाडामा लिएर फँडानी गरी पाँच हजार बोट लगाएर व्यवसाय सुरु गरेको पराजुलीले जानकारी दिए । उनले मोरिङ्गाको पातबाट धुलो बनाएर प्याकेजिङ गर्ने कार्यका लागि घरेलु तथा पर्यटन उद्योग कार्यालयमा उद्योग स्थापना गरेको छभने उत्पादनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँबाट अनुज्ञापत्र अनुमति लिएका छन् ।

    “अवकाश भएपछि त्यसै बस्न मन लागेन, त्यसैले उद्योग दर्ता गरेर काम सुरु गरेँ । मोरिङ्गाको धुलो बाहिरी जिल्लाबाट २०० ग्रामका लागि रु ७०० मा आउने रहेछ । जिल्लाभित्रैको उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भनेर मैले रु ५०० मात्रै शुल्क निर्धारण गरेको छु”, उनले भने ।

    पराजुलीले यस कार्यका लागि दुई जनालाई रोजगारी दिएको छ । उत्पादनका बेला भने पात काट्नका लागि छ÷सात जनालाई काममा लगाउनु परेको छ । जेठ महिनादेखि कात्तिक महिनासम्म यसको उत्पादन हुने गरेको छ । पोषणतत्व बढी हुने भएकाले यो स्वास्थ्यका लागि फाइदाजनक भएको र विशेष गरी मधुमेह, उच्च रक्तचाप, ग्याष्ट्रिकलगायत बिरामीलाई यसले फाइदा गर्ने उनले बताए । रासस