दमाैली, १९ जेठ । सहिद बेपत्ता योद्धा स्मृति सरोकार समितिले जिल्लाका दुई ठाउँमा सहिद बेपत्ता योद्धा स्मृति गेट पुनर्निर्माणका लागि आग्रह गरेको छ । समितिका संयोजक राजेन्द्रकेशरी न्यौपानेको नेतृत्वमा आइतबार प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै पृथ्वीराजमार्ग अन्तर्गत यसअघि निर्माण भएका दुई ठाउँका गेट पुनर्निर्माणका लागि सहयोग गर्न आग्रह गरेको हो ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) को नेतृत्वमा विसं २०६६ सालमा आँबुखैरेनी गाउँपालिका–१ सत्रसय र व्यास नगरपालिका–२ र ४ मा सहिद तथा बेपत्ता स्मृति योद्धा गेट निर्माण गरिएकामा मुग्लिन पोखरा सडक विस्तारका क्रममा उक्त गेट भत्काइएको थियो ।
पारिवारिक वंशीय राजतन्त्रको अन्त्य गरी देशमा गणतन्त्र स्थापनार्थ जीवन बलिदान गर्ने अमर सहिद र बेपत्ता योद्धाहरुको उच्च सम्मान गर्नु सबैको दायित्व भएकाले निजहरुको स्मृतिमा निर्मित गेट, पार्क, स्तम्भ तथा उद्यानहरुलाई संरक्षण गर्नु गणतन्त्रवादीको कर्तव्य भएको सरोकार समितिका सचिव नेत्र रानाभाटले बताए ।
लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा पूर्वराजावादी र पश्चगामीहरुले भ्रामक आन्दोलन गरी गणतान्त्रिक व्यवस्थामाथि नै धावा बोलिरहेको परिस्थितिमा गणतन्त्र प्राप्तिको आन्दोलनमा वीरतापूर्वक लड्ने अमर सहिद, बेपत्ता योद्धा र घाइते अपाङ्गहरु समेतका जीवित सेनानीहरुको मर्यादा र सम्मान गर्नुपर्ने उनकाे भनाइ छ । सहिद तथा बेपत्ता योद्धा स्मृति गेटहरु पुनर्निर्माण नहुनुले सहिद बेपत्ता परिवारहरुको भावनामा आँच र ठेस पुगेको मात्र नभइ गणतन्त्त नेपालको निर्माण गर्ने वीर योद्धाहरुको योगदानको अवमूल्यन भएको रानाभाटले उल्लेख गरे ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) का घटक सङ्गठको गत जेठ १२ गते बसेको बैठकले गेट निर्माणका लागि सम्बन्धित पक्ष मुग्लिन पोखरा सडक योजना पूर्वी खण्ड, कस्लटेन्ट, ठेकेदार कम्पनी र मुआब्जा वितरण समिति जिल्ला प्रशासन कार्यालय तनहुँमा ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।
त्यसक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमान, जिल्ला संयोजक सूर्यबहादुर गौलीको उपस्थिति थियो ।