काठमाडौ, १९ जेठ । देशभरका सडकमा लामो र छोटो दूरीका सार्वजनिक गाडी चलेका छैनन् ।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ अर्थात निजी गाडीलाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाएका हुन् ।
बस, माइक्रोबस, ट्याम्पो जस्ता सार्वजनिक गाडी नचल्दा काम विशेषले गन्तव्यमा पुग्नुपर्ने यात्रुलाई सास्ती भएको छ । बिरामी, बृद्धबृद्धा, विद्यार्थी र कर्मचारीले अझै धेरै सास्ती खेप्नुपरेको छ ।
कोही सडक छेउमा उभिएर बसको प्रतीक्षा गरिरहेका देखिन्छन् भने कोही निजी गाडीमा चढेर र कोही पैदलै हिँडिरहेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ, ढुवानी व्यवसायी महासङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ लगायतले संयुक्त रुपमा सार्वजनिक यातायात बचाउ केन्द्रीय समिति गठन गरेर आन्दोलन गरेका हुन् ।
उनीहरुले आजदेखि अनिश्चितकालका लागि देशभर सार्वजनिक गाडी नचलाउने घोषणा गरेका छन् । सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने अवस्था आएपछि आन्दोलन गर्नुपरेको व्यवसायीहरुको तर्क छ ।