आँबुखैरेनीका छात्राको खातामा रु आठ लाख जम्मा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीका छात्राको खातामा रु आठ लाख जम्मा

    खबरपुञ्ज संवाददाता

    २१ जेष्ठ २०८२, बुधबार

    दमौली, २१ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको खातामा रु आठ लाख १९ हजार रकम जम्मा गरिदिएको छ । छात्रा बचत खाता कार्यक्रम अन्तर्गत पालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत आठ सय १९ छात्राहरुको खातामा उक्त रकम जम्मा गरिदिएको हो ।

    शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पालिकाले यसै आर्थिक वर्षदेखि छात्रा बचत खाता कार्यक्रम सुरु गरेको थियो । विद्यार्थीमा बचत गर्ने बानीको विकास गर्ने उद्धेश्यसहित सुरु गरिएको यो कार्यक्रम अन्तर्गत कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने आठ सय १९ छात्राको बैङ्क खाता खोली प्रति विद्यार्थी रु एक हजारका दरले रकम जम्मा गरिदिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    कुमारी बैङ्क आँबुखैरेनी शाखामा सबै विद्यार्थीको खाता खोलेर उक्त रकमको चेक सोमबार बैङ्कका प्रबन्धलाई हस्तान्तरण गरिएको छ । चुमानले भने, “सबै छात्राहरुको बैङ्क खाता खोलेर प्रति विद्यार्थी रु एक हजारका दरले रकम जम्मा गरिदिएका छौ । सानैदेखि बचत गर्नुपर्छ भन्ने भावना विकास गर्न यो कार्यक्रम ल्याइएको हो ।”

    शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बाल बचत खाता सञ्चालनको मुख्य उद्धेश्य भनेको सानैदेखि बचत गर्ने बानीको विकास, रुची तथा क्षमता अनुसारको उच्च शिक्षाको पहुँच र उद्यमशील विकास गरी सुनौलो भविष्य निर्माणका लागि सहयोग पु¥याउने रहेको चुमानले बताए ।

    विद्यार्थीको खाता सञ्चालन बापत प्रत्येक विद्यार्थीले वार्षिक रु ३५ हजार बराबरको स्वास्थ्य बीमा प्राप्त गर्नेछन् ।

    यसैगरी गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति बापत रु सात लाख ९० हजार वितरण गरेको छ । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति वितरण कार्यक्रम अन्तर्गत ७९ जना विद्यार्थीलाई प्रति विद्यार्थी रु दश हजारका दरले रकम प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।