दमाैली, २१ जेठ । व्यास नगरपालिकाले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रमका लागि सराेकारवालासँग सुझाव माग गरेकाे छ । नगरप्रमुख वैकुण्ठ न्याैपानेकाे अध्यक्षतामा बुधबार बसेकाे बैठकले असार १० गते हुने त्रिचालिसाै नगरसभामा पेश गरिने नीति तथा कार्यक्रम सम्बन्धमा सराेकारवालासँग सुझाव माग गर्ने निर्णय गरेकाे हाे ।
नीति तथा कार्यक्रमका लागि सराेकारवालाले जेठ २५ गतेसम्म सुझाव दिन सक्ने प्रवक्ता सुरेश थापाले जानकारी दिए । त्यस्तै नगरपालिकाको संगठन संरचना सम्वन्धमा संशोधन प्रस्ताव पेश गर्न सुशासन समितिलाई निर्देशन दिने र आवश्यक विधेयक संशोधन प्रस्ताव पेश गर्न विधायन समितिलाई निर्देशन दिने निर्णय भएकाे थापाले उल्लेख गरे ।
संघीय सरकारबाट प्रस्तुत बजेटमा नगरपालिकालाई विशेष, समपूरक, समानीकरण र राजस्व बाँडफाडवाट रु एक अर्ब सत्ताइस करोड २९ लाख ४३ हजार एक सय १९ अनुदान प्राप्त हुने बैठकमा जानकारी गराइएकाे थियाे ।
बैठकले नगरभित्रका प्रधानाध्यापक छनोट हुन बाँकी रहेकामध्ये ११ वटा विद्यालयका प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया पूरा गरी पेश हुन आएको प्रस्ताव अनुमोदन गर्ने निर्णय गरेकाे छ ।