दमौली, २२ जेठ । इन्टरनेट सेवा प्रदायक डि. जि लिंक नेटवर्क बाह्रौं वर्षमा प्रवेश गरेको छ। २०७१ साल जेठ २२ गते शुक्ला गण्डकी क्षेत्र आसपासमा इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले स्थापित भएको डि. जि लिंक नेटवर्क प्रालीले आज आफ्नो एघारौँ वार्षिक उत्सव मनाउन गइरहेको हो।
वार्षिक उत्सवको अवसरमा संस्थाका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत विपिन वाग्लेले आफूहरूलाई सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण ग्राहकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि ग्राहकहरूको अझ धेरै माया र विश्वास प्राप्त गर्नेमा आफू विश्वस्त रहेको र भोलिका दिनहरूमा अझ गुणस्तरीय सेवा प्रदान गर्न संस्था प्रतिबद्ध रहेको बताए।
डि. जि लिंक नेटवर्क प्रालीले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको कास्की तनहुँ स्याङ्जा र पाल्पा जिल्लाको २८ वटा वडामा आफ्नो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ। जिपोन फाइबर टु द होम प्रविधि मार्फत आफूहरूले ग्राहकको घरघरमा इन्टरनेट सेवा प्रदान गरिरहेको संस्थाका अप्रेसन डाइरेक्टर मदन केसीले बताए।
इन्टरनेट सेवा प्रदायकहरूको भीडमा गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा प्रदायकको छवि बनाउन सफल डि. जि लिंकले १०० एमबीपीएस,१५० एमबीपीएस,२०० एमबीपीएस र ३०० एमबीपीएसको स्पिडका प्याकेजहरू उपलब्ध गराउँदै आइरहेको संस्थाका प्रबन्ध निर्देशक विवेक वाग्लेले बताए।
शुक्ला गण्डकी नगरपालिकाको दुलेगौंडा हेल्थ पोस्टचोकमा मुख्य कार्यालय रहेको डि. जि लिंक नेटवर्क प्रालीको भिमाद नगरपालिका चोक र घिरिङ गाउँपालिकाको पुटारमा सम्पर्क कार्यालय रहेको छ।
डि. जि लिंक नेटवर्कले आफ्नो एघारौँ वार्षिक उत्सवको अवसरमा यही २४ गते शनिबारका दिन दुलेगौंडा स्थित तनहु सेवा हस्पिटलमा निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरेको छ।