दमाैली, ४ असार । तनहुँको ऋषिङ गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीलाई दोहोरो भत्ता दिएको खुलेको छ । आर्थिक वर्ष २०८०÷८१ मा पालिकाले विभिन्न भ्रमण तथा बैठक भत्ताबापत दोहोरो सुविधा लिने गरेको खुलेको हो ।
पालिकाले विभिन्न भ्रमण भत्ता तथा बैठक भत्ता भुक्तानी गरेकामा लेखापरीक्षणमा नमूना परीक्षणका आधारमा भौचरहरुको परीक्षण गर्दा कर्मचारी तथा पदाधिकारीहरुको भत्ता दोहोरो तथा नमिल्ने भत्ता भुक्तानी भएको पाइएकाले सो रकम असुल गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ ।
सरकारी खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन २०७५ को बुँदा नम्बर १८ ले कार्यालयले गर्नुपर्ने काम परामर्शदाताबाट गराउने कार्यलाई निरुत्साहित गर्नुपर्ने उल्लेख छ । गण्डकी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७९ को नियम ३६ मा जिम्मेवार व्यक्तिले सरकारी रकमको खर्च लेख्नु अघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक बिल, भरपाई र कागजात संलग्न भए वा नभएको तथा संलग्न कागजात अनुसार भुक्तानी दिन रित पुगे वा नपुगेको जाँच गर्नुपर्ने व्यवस्था छ ।