तनहुँ टि २० क्रिकेट : महालक्ष्मीद्वारा केशवटारमाथि दुई सय ४३ रनको विशाल जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँ टि २० क्रिकेट : महालक्ष्मीद्वारा केशवटारमाथि दुई सय ४३ रनको विशाल जित

    खबरपुञ्ज संवाददाता

    ३ असार २०८२, बुधबार

    दमाैली, ४ असार । तनहुँ जिल्ला क्रिकेट सङ्घको आयोजनामा व्यास नगरपालिका–५ पाटनमा जारी क्लवस्तरीय टि २० क्रिकेट प्रतियोगितामा महालक्ष्मी क्रिकेट एकेडेमी दुई सय ४३ रनको विशाल अन्तरले विजयी भएको छ ।

    आज भएको केशवटार क्रिकेट क्लवविरुद्धको खेलमा महालक्ष्मीले उत्कृष्ट प्रदर्शन गर्दै दुई सय ४३ रनको विशाल अन्तरले विजयी भएको हो । खेलका उत्कृष्ट खेलाडी सिद्धार्थ साउद रहनुभयो, जसले ३७ बलमा ८४ रनको तीव्र पारी खेलेर दर्शकहरूलाई रोमाञ्चित बनाए । प्लेयर अफ दि म्याचको पुरस्कार तनहुँ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष मदन तिमल्सिनाले साउदलाई प्रदान गरेका थिए ।

    टस हारेर पहिले व्याटिङ गरेको महालक्ष्मीले केशवटारलाई तीन सय चार रनको लक्ष्य दिएको थियो । महालक्ष्मीका लक्की खड्काले ५५, खड्क बोहोराले ८५, आशिक सिग्देलले १७, सिद्धार्थ साउदले ८४ र हरिश भट्टले २० रन जोडे ।

    जवाफी व्याटिङमा उत्रिएको केशवटार ८.१ ओभरमा निर्धारित सबै विकेट गुमाउँदै ६० रनमा समेटियो । केशवटारका रोशन घिमिरेले, अर्जुन भट्टराईले २०, मुकेश ठगुन्नाले पाँच, निशान शाहले दुई, दिपेश खडेकाले दश, अंशु निरौलाले छ रन जाेडे ।

    असार ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नौ क्लवको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु ७५ हजार र द्वितीय हुनेलाई ३० हजार नगद प्रदान गरिने सङ्घका अध्यक्ष मदन तिमिल्सिनाले जानकारी दिए ।

    प्रतियोगितामा इस्टर्न क्रिकेट एकेडेमी, बैरेनी क्रिकेट क्लव, दमौली क्रिकेट क्लव, प्रगतिशिल क्रिकेट क्लव, महालक्ष्मी क्रिकेट एकेडेमी, हिमालय स्पोट्र्स एकेडेमी, आरसिबी क्रिकेट एकेडेमी, पेलिसन्स क्रिकेट क्लव, दमौली रिभल्स क्लवको सहभागिता रहेको छ ।

    सहभागी टिमलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष स्थान हासिल गर्ने टिम र बाँकी टिमहरु मध्ये उत्कृष्ट रन रेट हासिल गर्ने एक टिम, गरी कुल चार टिम सेमिफाइनल चरणमा प्रवेश गर्नेछन् ।