दमाैली, ४ असार । व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा विकास बजेटतर्फ २५ प्रतिशतमात्रै खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को जेठ मसान्तसम्म पुँजीगततर्फ २५ प्रतिशतमात्रै बजेट खर्च भएको नगरपालिकाले जनाएको छ ।
सङ्घीय बजेट अन्तर्गत ठेक्कामा लगाइएका ठूला योजनाहरुमा निर्माण व्यवसायीको कारणले ढिलाइ भएकाले पुँजीगत प्रगति कमजोर रहेको नगरपालिकाका प्रवक्ता सुरेश थापाले जानकारी दिए। चालुतर्फ भने ७५ प्रतिशत बजेट खर्च भएको छ ।
चालु आर्थिक वर्षका लागि नगरपालिको आयव्यय रु दुई अर्ब दश करोड ३५ लाख ४३ हजार अनुमान गरिएकामा ५६ प्रतिशत मात्रै आय प्राप्त भएको उनकाे भनाइ छ । उनले भने, “ठेक्का लगाइएका योजनामा निर्माण व्यवसायीको ढिलासुस्तीले पुँजीगत खर्च कम देखिएको छ। त्यसबारेमा कार्यपालिकाको बैठकमा छलफल गरी कार्यप्रगति बढाउन सम्बन्धितलाई निर्देशन दिइएको छ ।”
यस्तै आज बसेको कार्यपालिकाको बैठकले ४३ औं नगरसभा आगामी असार १० गते बस्ने गरी प्रकाशित कार्यसूचीलाई अनुमोदन गर्ने निर्णय गरेको छ । नगरपालिकाको ४३ औं नगरसभामा प्रस्तुत गर्ने प्रस्तावित नीति कार्यक्रमको बुँदागत छलफल गरी संशोधन सहित पारित गरिने निर्णय भएको प्रवक्ता थापाको भाइ छ ।
नगरसभामा प्रस्तुत गरिने नगरपालिकालाई प्राप्त हुने बजेट कार्यक्रमको सङ्घ, प्रदेश समानीकरण, राजस्व बाँडफाँड, सशर्त (चालु, पूँजीगत) र शहरी विकास मन्त्रालयबाट कार्यन्वयन हुने योजनाहरू सम्बन्धमा जानकारी लिई अन्तिम प्रस्ताव तयार गर्न असार ८ गते पुनः बैठक बस्ने निर्णय भएको छ ।
बैठकले नगर युवा परिषद्का लागि दरखास्त आव्हान गरेकामा ४६ जनाको दरखास्त पर्न आएको र प्रक्रिया नमिलेका ६ वटा फर्म रद्ध गरी ४० जनाको नाम अनुमोदन गरेको छ ।