दमाैली, ५ असार । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको पूर्वी खण्डमा कालाेपत्र अन्तिम चरणमा पुगेकाे छ । आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ दशमलब ४५ किलोमिटर दूरीमध्ये केही मिटरमात्रै बाँकी रहेकाे मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।
योजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दमौली बजार खण्डमा दुई सय मिटर र विमलनगरमा दुई सय ५० मिटर कालोपत्र गर्न बाँकी छ । अन्यत्र सबै ठाउँमा कालोपत्र सकिएको उनले बताए ।
दमौली बजार अन्तर्गत प्रहरी कार्यालय अगाडीदेखि मादी पुल नजिकको सिमलको रुखसम्म एकपट्टी कालाेपत्र भइसकेकाे भने अर्काेतर्फ कालाेपत्र तयारी गरिएकाे छ । त्यस ठाउँदेखि मादी पुल पारी सडक डिभिजन कार्यालय अगाडीसम्मको भाग भने मादी नदीमा पुल निर्माण गरिरहेको निर्माण व्यवसायीले कालोपत्र गर्नेछ ।
पाण्डेका अनुसार कालोपत्र सकिएका ठाउँहरुमा सडक रङरोगन भइरहेको छ । सडकको बीच र दायाँबायाँ मार्किङ गरिनुका साथै डिभाइडरमा रङ लगाउने कामलाई पनि तीव्रता दिइएको पाण्डेले बताए ।
यो खण्डको म्याद तेस्रो पटक थप भएर आगामी असार २९ गतेसम्म रहेको छ । त्यसअवधिभित्रै यो खण्डको काम सम्पन्न हुने पाण्डेले बताए ।