दमाैली, ५ असार । तनहुँमा हत्या अभियोगमा बिहीबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–३ हटिया घर हाई हाल तनहुँको देवघाट गाउँपालिका–५ बस्ने ४२ वर्षीय राम लामा र पाल्पाको तानसेन नगरपालिका–८ नयाँपाटी घर भई हाल देवघाट गाउँपालिका–५ बस्ने २८ वर्षीय बुद्ध सारु मगर रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
देवघाट गाउँपालिका–५ बद्रीमुक्ति टोल बस्ने ३२ वर्षीय प्रकाश पौडेलको कर्तव्य गरी हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए । पक्राउ परेका दुवै जना ज्याला मजदुरी गर्ने हुन् ।
आज बिहान पौडेल घरदेखि अन्दाजी तीन सय मिटरको दूरीमा रहेको कच्ची सडकमा लडिरहेको अवस्थामा स्थानीयवासीले भेटेका थिए । उनलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल चितवन लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापश्चात् प्रहरी निरीक्षक सुवेदीको नेतृत्वमा पुगेको टोलीले सुक्ष्म रुपमा अनुसन्धान गर्दा निजहरु मादक पदार्थ सेवन गरी झैझगडा गरेको खुल्न आएको छ । पक्राउ परेका दुई जनाले पौडेललाई कुटपिट गरेका थिए । प्रहरी निरीक्षक सुवेदीले भने, “गएराति सँगै बसेर मादक पदार्थ सेवन गरी झगडा भएको रहेछ, दुई जनाले पौडेललाई कुटपिट गरी हत्या गरेको खुलेको छ ।”