दमौली, ६ असोज । मानवअधिकार रक्षा र प्रत्याभूतिका लागि सबै प्रतिबद्ध हुनुपर्नेमा तनहुँमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा शुक्रबार तनहुँको बन्दीपुरमा आयोजित मानवअधिकार रक्षकहरुको क्षमता विकास अभिमुखीकरण कार्यक्रमका वक्ताहरुले मानव अधिकार संरक्षण सबैको कर्तव्य भएको बताए ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले मानवअधिकारको विषय संवेदनशील रहेको बताउँदै सबैलाई समान रुपमा बाँच्न पाउने अधिकार रहेको उल्लेख गरे । मानवअधिकार रक्षाका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताउँदै उनले मानवअधिकार प्रत्याभूतिका लागि आफैबाट सुरु गर्नुपर्ने चर्चा गरे ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले मानव अधिकार रक्षा र संरक्षणका लागि पालिका प्रतिबद्ध रहेको बताउँदै आामी वर्षको नीति, कार्यक्रम र बजेटमै यसलाई सम्बोधन गरिने बताए ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले राज्य संयन्त्र मानवअधिकार संरक्षणका लागि सधैं तयार रहेको प्रतिबद्धता जनाए । अधिकारीले राज्यले गर्ने हरेक काम मानवअधिकारमैत्री हुनुपर्ने बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन महाशाखा सचिव रामजी दनैले मानवअधिकार बहुआयामियक विषय भएकाले मानवअधिकार रक्षाका लागि नीति बनेपनि कार्यान्वयनमा समस्या रहँदै आएको बताए ।
महिला मानवअधिकार रक्षक सञ्जालका संयोजक कल्पना पौडेलले मानवअधिकारको विषय घरबाटै उठाउनुपर्ने बताइन् । गैरसरकारी संस्था महासङ्घ तनहुँका अध्यक्ष सरला श्रेष्ठले गैरसरकारी संस्थाले मानवअधिकारका विषयमा आवाज उठाउँदै आएको चर्चा गरिन् ।
बन्दीपुर अस्पतालका प्रमुख डा. अनिल गिरीले नियत सफा राखे मानवअधिकारमैत्री व्यवहार गर्न सकिने बताए ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश प्रमुख शिव खकुरेल, राष्ट्रिय मानवअधिकार आयोग पोखराका प्रमुख नितु गर्तौला, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।