दमाैली, ६ असार । तनहुँ जिल्ला क्रिकेट सङ्घको आयोजनामा व्यास नगरपालिका–५ पाटनमा जारी क्लव स्तरीय टि २० क्रिकेट प्रतियोगितामा दमौली राइभल्स क्लवले बैरेनी क्रिकेट क्लवलाई पाँच विकेटले पराजित गरेको छ ।
आज भएको पहिलो खेलमा बैरेनी क्रिकेट क्लवलाई राइभल्सले पाँच विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको वैरेनीले निर्धारित १६ ओभरमा नौ विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । वैरेनीका लागि आराश तामाङले १९, विश्व कार्कीले २१, सचिन लेखकले १२, दिवस कुंवरले दुई, विवेक यादवले एक, सुरज श्रेष्ठले १५, मुकेश ओझाले छ, सौरव मियाँले दश, मनोज यादवले १६, अब्दुल्ला अन्सारीले चार र अनुप पौडेलले एक रन जाेडे ।
जवाफी व्याटिङ गरेको राइभल्सले उक्त लक्ष्य ९.४ ओभरमा पाँच विकेटको क्षतिमा भेटायो । राइभल्सका लागि अनिस जोय गुरुङले १४, मुनाल लुङ्गेली गुरुङले ४२, विकलकुमार गुप्ताले २३, कृजन गुरुङले २९ रन बनाए ।
असार ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नौ क्लवको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु ७५ हजार र द्वितीय हुनेलाई ३० हजार नगद प्रदान गरिने सङ्घका अध्यक्ष मदन तिमिल्सिनाले जानकारी दिए ।